
काठमाडौँ– तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा बस दुर्घटना भएको छ। नारायणगढबाट गोरखातर्फ गुडेको ग२ख १०७७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो ४ः२० बजे मर्स्याङ्दी नदीतर्फ खसेको हो।
बस भीरमा अड्किएको छ। इलाका प्रहरी कार्यालय तनहुँका अनुसार पाँचजना घाइतेलाई उद्धार गरी आँबुखैरेनी अस्पताल लगिएको छ। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई भरतपुर रेफर गरिएको छ। बसमा कति यात्रु चढेका थिए भन्ने विवरण आइसकेको छैन। बस घोप्टो परेकाले यात्रुहरू च्यापिएको हुन सक्ने अनुमान गरिएको छ। रोकेर राखेको बस ब्याक गरेर अगाडि लैजान खोज्दा दुर्घटना भएको बताइएको छ।
बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। यसैगरी उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेना पनि खटिएको छ।