शिक्षा दिवसमा उत्कृष्ट शिक्षक, विद्यालय र क्याम्पसलाई सम्मान गरिने

हिमाल प्रेस १८ साउन २०८२ १५:१२
204
SHARES
शिक्षा दिवसमा उत्कृष्ट शिक्षक, विद्यालय र क्याम्पसलाई सम्मान गरिने

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ। बैठकमा राष्ट्रिय योजना आयोगकी सदस्य गीता पौड्याल, विभिन्न विश्वविद्यालयका उपकुलपति, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, उपत्यकाका प्रमुख जिल्ला अधिकारी, विभागीय प्रमुख तथा शिक्षा क्षेत्रमा सक्रिय व्यक्तित्वहरू सहभागी थिए।

शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले शिक्षा दिवसलाई भव्य एवं व्यवस्थित ढंगले मनाउन मूल समारोह समिति गठन गरिएको जानकारी गराउँदै सबै निकायबीच समन्वयको आवश्यकता औंल्याए। विद्यालय शिक्षा महाशाखाका प्रमुख रुद्र प्रसाद अधिकारीले विस्तृत कार्ययोजना प्रस्तुत गर्दै मूल समारोह समितिअन्तर्गत गठन गरिएका विभिन्न उपसमितिहरूको भूमिका र जिम्मेवारीबारे जानकारी गराए।

बैठकमा राष्ट्रिय शिक्षा दिवस २०८२ मनाउने क्रममा विभिन्न संघसंस्थालाई समावेश गर्ने, उपसमितिहरूलाई स्पष्ट कार्यक्षेत्र निर्धारण गर्ने, रचनात्मक कार्यक्रम आयोजना गर्ने, उत्कृष्ट शिक्षक, विद्यालय, विद्यार्थी तथा कर्मचारी छान्ने, उत्कृष्ट क्याम्पसको छनोट गर्ने र स्मारिका प्रकाशन गर्ने जस्ता विषयमा विस्तृत छलफल भयो।

सचिव पौडेलले सबै निकायलाई आ–आफ्नो तर्फबाट रचनात्मक कार्यक्रमको योजना बनाउन अनुरोध गर्दै, सांस्कृतिक कार्यक्रम र प्रचार–प्रसारका लागि समेत आवश्यक तयारी गर्न निर्देशन दिए। उनले सञ्चार माध्यमहरूलाई शिक्षा दिवसको प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

बैठकमा मन्त्री पन्तले शिक्षाको विषयमा बहस र छलफलका कार्यक्रम सञ्चालन गर्ने, संघसंस्थाहरूले आ–आफ्नै ढंगले दिवस मनाउने र विद्यार्थी, शिक्षक तथा अभिभावकमाझ शिक्षाको महत्वबारे गम्भीर छलफल गर्नुपर्ने बताए। उनले केही वर्षदेखि रोकिएको विद्याभूषण पदक यस वर्ष वितरण गरिने जानकारी समेत दिए।

गत वर्षको शिक्षा दिवसको नारालाई निरन्तरता दिँदै ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ यो वर्ष पनि पृथक् शैलीमा दिवस मनाउने सहमति बैठकमा भएको छ। शिक्षा सचिवले पुरस्कार वितरणका मापदण्ड तथा विद्याभूषण वितरणको नयाँ आधार तय गरिने र कार्यक्रमको मोडालिटी मन्त्रालयले निर्धारण गर्ने बताए।

बैठकका सहभागीहरूले शिक्षा दिवसलाई सफल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आ–आफ्नो जिम्मेवारी बहन गर्ने विश्वास दिलाएका थिए।

प्रकाशित: १८ साउन २०८२ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast