
काठमाडौँ- गत शुक्रबार अर्थात् साउन १६ देखि प्रदर्शन भएको फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित हुने भएको छ।
निर्माण कम्पनी रेबेल फिल्म्सले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रदर्शन रोक्ने जानकारी दिएका हुन्। फिल्म निर्माणमा गरिएको परिश्रम, मेहनत र लगानी अनुरूप प्रदर्शन समय नपाएकोले बाध्य भएर हलबाट निकाल्नु परेको विज्ञप्तिमा उल्लेख छ।
फिल्म भोलि अर्थात् सोमबारदेखि नेपालभरका सबै हलमा प्रदर्शन स्थगित गर्ने विज्ञप्तिमार्फत जानकारी दिइएको छ।
हलवालाहरूले फिल्मलाई प्रभावकारी समयमा सो नदिएको भन्दै निर्माण टिमले दर्शकलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न नसकिने अवस्था आएको बताएका छन्। रेबेल फिल्म्सले यस निर्णयबाट उत्पन्न असुविधाप्रति दर्शक क्षमा याचना पनि व्यक्त गरेको छ।
‘दर्शकको सकारात्मक प्रतिक्रिया पाएको र सोअनुसार हललाई बारम्बार अनुरोध गर्यौँ। उहाँहरूले उपयुक्त सो को बारेमा बेवास्ता गरे। त्यही भएर हामी प्रदर्शन स्थगित गर्ने कठोर निर्णय लिन बाध्य भयौँ,’ निर्माता गगनलाल प्रधानले भने।
विभोर पोखरेलले निर्देशनमा बनेको फिल्मले रोजगारीको सिलसिलामा खाडी मुलुकहरूमा जाने नेपालीहरूको जीवन भोगाइ प्रस्तुत गरेको छ।
फिल्ममा प्रमोद चौलागाईं र नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापालगायत कलाकारको अभिनय छ।