
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताबाट बाहिरिएपछि सार्वजनिक अभिव्यक्ति दिँदा प्रायः विरोधीलाई लक्ष्य गरी ‘प्रतिक्रियावादी’ भन्ने शब्द छुटाउँदैनन्। माओवादीले २०५२-२०६२ सालको दसबर्से जनयुद्धका बेला तत्कालीन राजनीतिक पार्टी र दरबारको आलोचना गर्दा ‘प्रतिक्रियावादी’ शब्द खुबै प्रयोग गर्दथ्यो।
२०६५ पछि यता पटकपटक सत्तामा पुगेका प्रचण्ड सत्ताबाहिर आउनेबित्तिकै विपक्षीको आलोचना गर्दा ‘प्रतिक्रियावादी’ भन्दै आएका छन्। राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा पनि उनले प्रतिक्रियावादीले माओवादीलाई विभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको आरोप लगाए। प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यसपटक पनि प्रतिक्रियावादी को भनेर खुलाएनन्।
माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औँ बोत्ले स्मृति दिवसमा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरी कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताए।
सबै माओवादी धारा र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने प्रयास भइरहेको जानकारी दिँदै प्रचण्डले एकता हुन नदिन प्रतिक्रियावादी पनि ज्यान छाडेर लागेको धारणा राखे।
प्रचण्डले माओवादीले आफूलाई एकताबद्ध गर्न नसके प्रतिक्रियावादीले प्राप्त उपलब्धिसमेत उल्ट्याउने खतरा रहेको बताए। क्रान्तिकारी, वामपन्थी र देशभक्तलाई एकताबद्ध गरेर प्रतिक्रियावादीको षड्यन्त्रको प्रतिवाद र प्रतिरोध गर्ने प्रयास जारी रहेको उनको भनाइ छ। प्रचण्डले नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पका साथ आफु हिँडिरहेको पनि बताए।
नेपाली शब्दकोशका अनुसार प्रतिक्रियावादको अर्थ हुन्छ- उन्नति, सुधार आदिका विरुद्ध लाग्ने सिद्धान्त वा नयाँ परिवर्तन, वैज्ञानिक तथा प्रगतिशील दृष्टिकोणको विरोधी सिद्धान्त। सोझो अर्थमा प्रचण्डले आफूविरोधी व्यक्ति वा दललाई प्रतिक्रियावादी भनेका हुन सक्छन्। पार्टी एकता गर्न नदिने प्रक्रियावादी भनेर प्रचण्डले कसलाई भनेका हुन् स्पष्ट छैन। यसैगरी प्राप्त राजनीतिक उपलब्धि प्रतिक्रियावादीले उल्ट्याउन सक्ने भनेर उनले कुन राजनीतिक शक्तिलाई इंगित गरेका हुन् भन्ने पनि अस्पष्ट छ।
जानकारहरू प्रतिक्रियावादको विशेष राजनीतिक अर्थ रहेको बताउँछन्। राजनीतिक विश्लेषक डा. विष्णु दाहालको बुझाइमा प्रचण्डले जनतालाई तर्साउन प्रतिक्रियावादी शब्द प्रयोग गर्दै आएका छन्।
उनले भने, ‘प्रचण्डको प्रतिक्रियावादी शब्द जनतालाई तर्साउने अस्त्रमात्र हो।’ लुटतन्त्र, भ्रष्टाचार, कुकर्म छोप्नकै लागि पनि प्रचण्डले सत्ताबाट बाहिरिएपछि यस्तो शब्द प्रयोग गर्दै आएको दाहालले बताए।
‘प्रचण्डले प्रतिक्रियावादी शब्द देखाएर भ्रष्टाचार, हिंसा जस्ता जुनसुकै अनियमितता गर्न सक्छन् भन्ने उनको विगतले नै स्पष्ट पारेको छ। अहिले पनि उनले प्रतिक्रियावादी शब्द व्यक्त गरेर जनतालाई तर्साउन मात्र खोजेका हुन्। यो शब्द कुकर्म गर्ने उनको लाइसेन्स हो।’
वामपन्थी राजनीतिका जानकार नरेन्द्रजंग पिटरको बुझाइ भने फरक छ। उनले आफूमाथि आइलागेको संकट विषयान्तर गर्न प्रचण्डले विगतदेखि नै ‘प्रतिक्रियावादी’ शब्द प्रयोग गर्दै आइरहेको बताए।
प्रचण्डले अहिले आफ्नो सोचविचार, योजना, मार्गचित्रविरुद्ध रहेको व्यक्ति वा पार्टीलाई प्रतिक्रियावादीको संज्ञा दिएको पिटर बताउँछन्। उनले भने, ‘प्रचण्डको सोचविरुद्ध जाने यस्ता मानिस पार्टीभित्र वा बाहिर दुवैतिरका हुन सक्छन्।’
पिटरले प्रचण्डको ‘प्रतिक्रियावादी’ शब्दलाई पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले व्यक्त गर्ने ‘ग्य्रान्ड डिजाइन’ शब्दसँग तुलना गरे। कोइराला पनि राजनीतिक संकट आइलाग्दा कुनै व्यक्ति वा समूहको नाम नतोकी ‘ग्य्रान्ड डिजाइन’ भन्ने गर्थे। कोइरालाले ‘ग्य्रान्ड डिजाइन’ कसको हो भन्ने जीवनभर खुलाएनन्।
प्रचण्डले पनि अहिले आफूमाथि आइपरेको संकटलाई विषयान्तर गर्न प्रतिक्रियावादी शब्द प्रयोग गरेको टिप्पणी पिटरको छ। उनले भने, ‘प्रचण्डको प्रतिक्रियावादी भन्ने शब्द आफूमाथि आइपरेको संकटलाई विषयान्तर गर्ने खेल हो।’
राजनीतिक दलका नेताहरूलाई मूल विषयलाई विषयान्तर गर्न एउटा तर्क चाहिने बताउँदै पिटरले प्रचण्डले अहिले त्यही शब्द प्रयोग गरेको बताए।
माओवादी अध्यक्ष प्रचण्डलाई यति बेला पार्टीभित्र नेतृत्व पुस्तान्तरण गर्नुपर्ने दबाब छ। पार्टीभित्रबाट पनि दोस्रो तहका नेता जनार्दन शर्माले प्रचण्डलाई चुनौती दिइरहेका छन्। चार दशकदेखि पार्टी अध्यक्षका रूपमा रहँदै आएका प्रचण्डले आफ्नो सत्ता र मोर्चाका विरुद्धमा आवाज उठाउन खोज्ने आफ्नै दलका नेताविरुद्ध पनि ‘प्रतिक्रियावादी’ शब्द प्रयोग गरेका हुन सक्छन्।