
चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्राप्त हालको परिवर्तनमा स्वर्गीय चन्द्रकान्त बगालेको योगदान अतुलनीय रहेको बताएका छन्।
शनिबार भरतपुर महानगरपालिका-४, त्रिचोकस्थित स्व. बगालेको निवासमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले हरेक जनआन्दोलनमा बगालेले निर्वाह गरेको भूमिकालाई स्मरणीय भन्दै श्रद्धाञ्जली अर्पण गरे।
‘बगालेज्यूको संघर्षशील जीवन र योगदान हाम्रो पार्टीको गौरव हो,’ देउवाले भने, ‘कांग्रेस सधैँ त्याग गर्ने र योगदान पुर्याउने अग्रज नेताहरूलाई सम्मान गर्छ।’
उनले अग्रजहरूले देखाएको सपना पूरा गर्न नेपाली कांग्रेसको नेतृत्व सधैँ तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।
स्व.चन्द्रकान्त बगालेको जन्म १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाविस–८ मा भएको थियो। उनको निधन २०८२ साउन १० गते ९७ वर्षको उमेरमा भएको हो।