
रुकुमपश्चिम- रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-६ स्थित जनचेतना आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षक निर्मला वलीले सरकारले बालविकास शिक्षा, शिक्षकप्रति गर्दै आएको व्यवहारप्रति चिन्ता व्यक्त गरेकी छिन्।
हिमालप्रेससँगको कुराकानीमा उनले केही मन्त्री, सांसदहरूको अभिव्यक्ति सुन्दा बालविकास शिक्षकलाई ‘शिक्षक’ भनेर नमानिएको भन्दै आक्रोश व्यक्त गरिन्। ‘कतिपय माननीयको कुरा सुन्दा हामी शिक्षक नै नपर्ने रहेछौं, सहजकर्ता भनिएको छ। यस्तो व्यवहारले हाम्रो जोसजाँगर नै घटाएको छ,’ उनले भनिन्।
वलीका अनुसार बालविकासदेखि कक्षा ३ सम्म पढाउने शिक्षकको शैक्षिक योग्यता समान भए पनि व्यवहारमा भेदभाव गरिएको छ। ‘एउटै छानामुनि, एउटै योग्यता लिएर काम गरे पनि बालविकास शिक्षकलाई श्रमशोषण गरिएको छ,’ उनले गुनासो गरिन्,‘हामीलाई शिक्षक नै भन्न मान्दैनन् भने पारिश्रमिक कसरी देला?’
बालविकास शिक्षक प्रायः महिला हुने भएकाले सरकारबाट लैंगिक विभेद गरेको वलीको अर्काे गुनासाे छ। उनले भनिन्,‘बालविकास कक्षामा महिला भएकै कारण सरकारले श्रमशोषण गर्न कदापि मिल्दैन।’
वलीको भनाइमा राज्यबाट आवश्यक सम्मान नपाउँदा बालविकास शिक्षक विद्यालयभित्र र घरभित्र दुवैतिर हिंसाको सिकार बन्न बाध्य छन्। ‘हाम्रा जति माग छन्, त्यो माग पूरा गरेर ‘शिक्षक’ भनियोस्, हाेइन भने बालविकास कोटा नै खारेज गरोस्। आज सरकारबाट धोका पाइयो भने सबैले पेन्सन पाएर निस्कँदा हामी टेन्सन लिएर रुँदै निस्कन नपराेस्,’ उनले भनिन्।