सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व संकलन

हिमाल प्रेस १८ साउन २०८२ ८:४६
6
SHARES
सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व संकलन

कैलाली- नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट चार करोड ४१ लाख ५१ हजार राजस्व संकलन गरेको छ।

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट चार करोड ४१ लाख ५१ हजार राजस्व संकलन भएको जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा गरिएको विभिन्न सवारी कारबाहीबाट चार करोड ८९ लाख ८७ हजार राजस्व संकलन भएको थियो।

गत आवमा सुदूरपश्चिम प्रदेशभरिमा भएका १ हजार २ सय ३ वटा सवारी दुर्घटनाबाट एक सय ९२ जनाको मृत्यु भएको जनाउँदै प्रहरी उपरीक्षक शाहीले दुई हजार चार जना घाइते भएका उल्लेख बताए।

सोही अवधिमा सवारी दुर्घटनाबाट १३ वटा पशुचौपायको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक शाहीका अनुसार तीव्र गतिका कारण सबैभन्दा बढी सात सय ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै मादक पदार्थ सेवनका कारण एक सय ३६, ओभरटेक ३२, मेकानिकल ५५, सडकरमौसमका कारण २६, चौपायाका कारण १९ र बाँकी अन्य कारणबाट सवारी दुर्घटना भएका उनले जानकारी दिए।

ट्रक, ट्याक्टर, टिपर, डोजर, बस, माइक्रो, जीप, कार, टेप्पो, मोटरसाइकललगायत दुर्घटनामा संलग्न सवारीसाधन एक हजार ७२६ वटा रहेका छन्। यस कार्यालय र मातहतका कार्यालयबाट ‘चालकसँग एक मिनेट’, ‘स्कुल सम्पर्क’, ‘अभिभावकसँग ट्राफिक प्रहरी’लगायत कार्यक्रम सम्पादन गरिएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए।

उनका अनुसार पहाडी रुट गोदावारीबाट बुडर, बुडरबाट स्याउलेसम्म ‘टाइमकार्ड’ लागू गरी कडाइका साथ कार्यान्वयन गरिएको छ। लामो दूरीका भाडाका यात्रुवाहक बसमा दुई जना चालक भएरनभएको टिसिए एप्स (ट्राफिक कम्युनिकेसन एप्लिकेसन) को प्रयोग गरी चेकजाँचलाई निरन्तरता दिइएको उनले बताए।

प्रकाशित: १८ साउन २०८२ ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast