
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफूले पार्टी छाड्ने वा राजीनामा दिने कल्पनासमेत गर्न नसक्ने बताएका छन्।
शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीेसँग कुरा गर्दै खनालले विद्रोह गरेर निर्माण गरेको पार्टीलाई बैचारिक र सैद्धान्तिक रुपमा सुदृढ गर्नुपर्ने भन्दै कसैले भन्दैमा पार्टी छाड्ने वा राजीनामा दिने कल्पना समेत गर्न नसक्ने बताएका हुन्।
उनले आफ्नो अन्तर्वार्ताका आधारमा पार्टी अध्यक्षले पार्टी छोड भन्नु तल्लो स्तरको चिन्तन भएको टिप्पणी गरे।
खनालले आफूले नभई पार्टी चलाउन सक्ने क्षमता नभएकाले पार्टी छाड्नुपर्ने तर्क गरे। अध्यक्ष माधवकुमार नेपालले शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले पार्टी नीतिविपरित बाेलेको भन्दै बिदा हुन सुझाव दिएका थिए। खनालले एमाले टुक्र्याउनु गलत भएको भनेको भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टी बाट बिदा लिन सुझाव दिएका थिए।
खनालले अध्यक्ष नेपालको यही टिप्पणीको जवाफ दिएका हुन्।
उनले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि हुन नसकेकाले औचित्य पुष्टि हुनेगरी पार्टी आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिए।
पार्टी विद्रोह गरेको कुरालाई आफूले गलत नभनेको स्पष्ट पार्दै खनालले विद्रोहको औचित्य स्थापित हुन नसके विद्रोह स्वतः गलत हुन जाने जिकिर गरे।
खनालले आफूले पार्टीमा वैज्ञानिक समाजवादमा जोड दिए पनि पार्टी अध्यक्ष पुरानै जबजको पछि लागेको तर्क गरे। खनालले समाजवादी मोर्चाको कुनै गन्तव्य नरहेकाले यसप्रति आफ्नो सकारात्मक विश्वास नरहेको बताए।