
काठमाडौँ- कवि तथा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को लोकार्पण भएको छ। कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले ‘ईश्वरका फूलहरू’ नेपाली कविताको गाम्भीर्यमा एउटा ताजा भाव र संवेदनाको स्पर्श भएको बताए। उनले भने, ‘सिटौलाको कविताले विचार र अनुभूतिलाई गहिरो ढंगले उधिनेको छ, जसले नेपाली कविता साहित्यलाई अझ समृद्ध बनाउनेछ।’
विशिष्ठ अतिथिका रूपमा उपस्थित प्राध्यापक डा. खगेन्द्र लुइँटेलले कवितामामा प्रयोग भएका प्रतीक र शिल्पको प्रशंसा गर्दै यसले पाठकलाई चिन्तनशील बनाउने बताए।
अर्का विशिष्ठ अतिथि प्रा. डा. कृष्णहरि बरालले सिटौलाको कवितामा भाषा र भावको सशक्त संयोजन रहेको उल्लेख गरे। ‘सिटौलाका कविता अन्तरात्माको स्पर्श हुन्, जसले पाठकमा गहिरो प्रभाव छोड्छ,’उनले भने।
कार्यक्रममा साहित्यकार र अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै कृतिमा समर्पण, अध्यात्म र सामाजिक यथार्थको सूक्ष्म चित्रण भएको उल्लेख गरे।
नुवाकोटमा जन्मिएका राजु सिटौला हाल अमेरिकामा रहेर नेपाली भाषा, साहित्य र अनेसासको अभियानमा क्रियाशील छन्।