मेदवेदेभको भड्काउ टिप्पणीपछि परमाणु पनडुब्बी तैनाथ गर्न ट्रम्पको निर्देशन

हिमाल प्रेस १७ साउन २०८२ १६:४३
20
SHARES
मेदवेदेभको भड्काउ टिप्पणीपछि परमाणु पनडुब्बी तैनाथ गर्न ट्रम्पको निर्देशन

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेभको ‘उकसाउने’ भनाइपछि दुई परमाणु पनडुब्बी ‘उपयुक्त स्थानमा’ तैनाथ गर्न निर्देशन दिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन्,‘मेदवेदेभका भड्काउ बयानहरूलाई ध्यानमा राख्दै दुई परमाणु पनडुब्बीहरूलाई सम्बन्धित क्षेत्रमा पठाउन आदेश दिएको छु।’

यद्यपि उनले ती पनडुब्बीहरू परमाणु ऊर्जा चालित हुन कि परमाणु हतियारसहित भन्ने प्रस्ट पारेका छैनन्। सैन्य गोपनीयताका कारण उनले ती स्थानहरू पनि खुलाएका छैनन्।

यो निर्णय मेदवेदेभवले अमेरिका र ट्रम्पलाई लक्षित गर्दै दिएको टिप्पणीको प्रतिउत्तरको रूपमा आएको हो। ट्रम्पले यसअघि रूसलाई युक्रेनमा युद्धविराम गर्न चेतावनी दिएका थिए र यदि त्यसो नगरे थप कडा प्रतिबन्ध लगाउने धम्की दिएका थिए।

‘सबैको सुरक्षाका लागि’ कदम : ट्रम्प

ट्रम्पले पत्रकारहरूसँग भने,‘एक प्रकारको धम्की दिइएको थियो र हामीले त्यसलाई गम्भीरतापूर्वक लियौँ। म अमेरिकी जनताको सुरक्षाका लागि सजग हुनैपथ्र्यो। शब्दहरूको महत्व हुन्छ, कतिपटक त ती अनपेक्षित परिणाम ल्याउन सक्छन्। म आशा गर्छु यसपटक त्यस्तो केही नहोस्।’

हालसम्म रूसी सरकारले ट्रम्पको चेतावनीमा औपचारिक प्रतिक्रिया दिएको छैन। तर, ट्रम्पको बयानपछि मस्कोको सेयर बजारमा ठूलो गिरावट देखिएको छ।

ट्रम्प–मेदवेदेभबीच वाकयुद्ध

मेदवेदेभ सन् २००८ देखि २०१२ सम्म रूसका राष्ट्रपति थिए। उनले ट्रम्पमाथि चेतावनीको खेल खेलिरहेको आरोप लगाएका थिए। सामाजिक सञ्जाल एक्समा उनले लेखेका थिए,‘हरेक नयाँ चेतावनी युद्धतर्फ एक कदम हो।’

बिहीबार उनले टेलिग्राममा ‘डेड ह्यान्ड’ को चेतावनी दिए। यो रूसी परमाणु प्रतिउत्तर प्रणालीको संकेतको रूपमा बुझिएको छ।

ट्रम्पले त्यसको जवाफमा मेदवेदेभलाई ‘रूसको असफल पूर्वराष्ट्रपति जसले अझै आफूलाई राष्ट्रपति सम्झन्छन्’ भनेका थिए। उनले चेतावनी दिएका थिए,‘आफ्नो भाषा नियन्त्रणमा राख्नुस्, तपाईँ एक खतरनाक क्षेत्रमा पाइला चाल्दै हुनुहुन्छ।’

परमाणु पनडुब्बीको होडबाजी

ट्रम्प पुनः राष्ट्रपतिमा दोहोरिएपछि अमेरिकाले चीन र रूसको प्रभाव घटाउन पनडुब्बी नीतिमा परिवर्तन ल्याएको छ। अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको नयाँ त्रिपक्षीय सुरक्षा सम्झौताअन्तर्गत अस्ट्रेलियालाई पहिलोपटक परमाणु–सञ्चालित पनडुब्बी दिने योजना छ।

यी देशहरूले संयुक्त रूपमा आधुनिक प्रविधियुक्त पनडुब्बी निर्माण गर्ने लक्ष्य लिएका छन्। यो कदम चीनको बढ्दो सैन्य प्रभावलाई चुनौती दिने रणनीतिअन्तर्गत आएको हो।

परमाणु पनडुब्बी के हो?

परमाणु पनडुब्बी भन्नाले अनिवार्य रूपमा परमाणु हतियार नै होइन। यसको मुख्य विशेषता भनेको सञ्चालनमा प्रयोग हुने ऊर्जा हो। यस्ता पनडुब्बीहरूमा युरेनियम इन्धन प्रयोग गरिन्छ, जसको विखन्डनबाट प्राप्त ऊर्जा पनडुब्बी सञ्चालनमा प्रयोग हुन्छ।

अहिलेसम्म चीन, फ्रान्स, भारत, रूस, बेलायत र अमेरिकासँग मात्र परमाणु सञ्चालित पनडुब्बीहरू रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast