नपाएको माया र धुर्कापानीको आँसु : ‘दिनमा पनि रातमा पनि…’

हिमाल प्रेस १७ साउन २०८२ १६:२०
160
SHARES
नपाएको माया र धुर्कापानीको आँसु : ‘दिनमा पनि रातमा पनि…’

काठमाडौँ- ‘हामीले अथक प्रयास गरेर जे चिज प्राप्त गर्छौँ, त्यसपछि त्यो चिजको महत्त्व सकिन्छ। प्रेम र माया भन्ने चिज पनि त्यस्तै हो, प्राप्त भएका दिन त्यसको महत्त्व सकिन्छ’, गीतकार एवम् गजलकार डा. तारानाथ घिमिरे ‘धुर्कापानी’ ले आफ्नो गीत ‘दिनमा पनि रातमा पनि…’ को सार्वजनिक समारोहमा प्रस्तुत गरेको अभिव्यक्ति हो।

मानिसले कसैसित प्रेम गर्छ। उसलाई पाउन पनि सक्छ, नपाउन पनि सक्छ। तर प्राप्त गरेर भौतिक सुख प्राप्त गर्नु भन्दा प्राप्त नगरेर मानसिक सुखमा रमाउनु नै जीवनमूल्य रहेको धुर्कापानीले बताए। यस्तै चिन्तनका आधारमा आफूले गीतगजल रचना गर्दै आएको उनको भनाइ छ। धुर्कापानीले भने, ‘चाहेको विषय प्राप्त नगरेको तर अनुभूतिमा रमाउन चाहने मान्छे म हुँ।’ उनको सिर्जना पनि त्यस्तै छ-

दिनमा पनि रातमा पनि कति रुनु रुन पनि
मनेको पिर आँसुले कति धुनु धुन पनि
जहिलेदेखि यी आँखालाई ती आँखाले हेरिदिए
मुटु चिरा पर्ने गरी कति छुनु छुन पनि

आफूलेले गजल भन्दै जाँदा डा. घनश्याम परिश्रमीले ‘तिमीलाई यही नाम सुहाउँछ’ भनेर आफ्नो नामको पछाडि धुर्कापानी (आँसु/जीवनमा आइपर्ने दुःख, कष्ट, हैरानी) राखिदिएको स्मरण घिमिरेले गरे।

गीतकार डा. धुर्कापानीले गीतसंगीतमा परिचर्चा गरियो भने केही योगदान पुग्छ कि भनेर यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनले भने, ‘सुगम संगीतलाई टेवा पुर्‍याउने मेरो उद्देश्य हो।’

गीतको काठमाडौँमा शनिबार डीआर सिर्जना संसारद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि डा. नवराज लम्सालले प्ले बटम थिचेर गीत सार्वजनिक गरेका थिए। गीतमा वरिष्ठ गायक तथा संगीतकार विष्णु अधिकारीको स्वर/संगीत रहेको छ। उक्त अवसरमा सुगम संगीत : आस्था र अवस्था विषयमा अन्तरक्रिया गरिएको थियो।

समारोहमा वरिष्ठ कवि डा. लम्सालले धुर्कापानीको गीतमा संवेदनामा बहुकोण रहेको बताए। ‘दिनमा पनि रातमा पनि..’ फूलका पाँचसातवटा बोटबाट एकएक थुंंगा टिपेर संयोजन गरेजस्तो लाग्ने उनको भनाइ छ। लम्सालले भने, ‘एउटा–एउटा संवेदना टिपेर गीतको सुन्दर माला बनाइएको रहेछ।’

समीक्षक गीता डा. गीता त्रिपाठीले धुर्कापानीको गीतमा गीतमा प्रतीकात्मक अर्थ खोज्ने ठाउँ धेरै रहेको बताइन्। गीतमा अनगिन्ती रुवाइ रहेको उनको भनाइ छ। उनले भनिन्, ‘गीतमा व्यक्त रुवाइले हामी सबैको संवेदनालाई हल्लाइदिएको छ। यो गीत महारोदनको समयमा लेखिएको जस्तो लाग्छ।’ त्रिपाठीले आँसुमा एउटा विरेचनको शक्ति भएकाले पनि गीतको मर्म सामान्यभन्दा विशेष रहेको बताइन्। उनले धुर्कापानीलाई दुःखान्त गीतकारका रूपमा चिनाइन्।

संगीतकार राजु सिंहले शब्द विन्यासलाई संगीतले न्याय गरेको बताए। उनले भने, ‘गीतका शब्दलाई संगीत संयोजकले काँधमा राख्न सफल भएको देखिन्छ।’ गीतको शब्द असाध्यै राम्रो रहेको बताए। उनले भने, ‘जुन कुरा शब्दले भन्न सक्दैन, त्यो कुरा संगीतले भन्न सक्नु यसको सफलता हो।’

सिंहले सुगम संगीतले ठाउँ पाएन भन्ने भनाइमा आफ्नो विमति रहेको बताए। उनले गीतकार र संगीतकारले राम्रो श्रोता बटुल्न सक्नुपर्ने बताए। सिंहले गीतकार धुर्कापानी र संगीतकार अधिकारीले गीतसंगीतमा नयाँ आयाम ल्याउन सफल भएको बताए।

भौतिकशास्त्रका प्राध्यापक डा. राजुभाइ ट्याटले गीतको १२ पंक्तिमा व्यक्ति र प्रकृति सम्बन्धका विभिन्न सन्दर्भहरू रहेको बताए। उनले पहिला रातमा भन्ने कि दिनमा भन्ने दोधार रहेको बताए। उनले भने, ‘मान्छे धेरैका अगाडि रुँदैन। ऊ रातमा रुन्छ। गीतमा पहिला रातमा भनेर पछि दिनमा भन्ने हो कि?’ यसैगरी यी आँखालाई ती आँखाले भन्नुभन्दा पहिला ती आँखाले भन्न सकिने सुझाव दिए। कार्यक्रमका संयोजक डा. हेम भण्डारीले कलासाहित्यमा अन्तरविषयक समीक्षाले कृतिको उचाइ बढ्ने बताए। उनले गीतकार धुर्कापानीको साहित्य सिर्जनाका  विभिन्न आयाममाथि चर्चा गरेका थिए।

‘दिनमा पनि रातमा पनि..’ का संगीतकार एवम् गायक विष्णु अधिकारीले धेरै पटकको प्रयासमा संगीत संयोजन गरेपछि धुर्कापानीको गीत तयार भएको बताए। उनले गीतकारसँग बसेरै संगीत संयोजन गर्दाको रोचक अनुभव सुनाए।

समाजशास्त्री एवम् विश्लेषक डा. विष्णु दाहालले सुगम संगीत : आस्था र अवस्था विषयमा विद्वत् मन्तव्य राख्दै पछिल्ला दिनमा सुगम संगीतलाई आयातीत र छाडा संगीतले प्रभाव जमाइरहेको बताए। उनले भने, ‘समाज बदलिँदै जाँदा प्रेमको प्रसंग बदलिँदो रहेछ। कथा बदलिन्छ। संगीतमा पनि फ्युजन हुँदै जाँदो रहेछ। समाज जस्तो छ, त्यहीअनुसारका श्रोता तयार हुन्छन्।’

डा. दाहालले यस्ता कुरालाई समयानुकूल बनाउने संस्थाको भने अभाव रहेको बताए। उनले भारतीयहरूले हिन्दी गीतमा नेपाली शब्द फ्युजन गरेजस्तै नेपाली गीतमा पनि त्यस्तो प्रवृत्ति भित्र्याउन सक्नुपर्नेमा जोड दिए।

सुगम संगीतमा भारतमा धेरै परिवर्तन भए पनि नेपालमा फराकिलो अध्ययन हुन नसकेको उनको भनाइ छ। डा. दाहालले नेपालीहरू स्वतन्त्रताका नाममा स्वच्छन्द भइरहेजस्तै त्यसको असर कलासाहित्यमा पनि परेको बताए।

दाहालले भने, ‘हामीले राजनीतिक परिवर्तन गरेर स्वतन्त्र मात्र प्राप्त गरेका छैनौँ, स्वच्छन्द भएका छौँ। त्यसैगरी संगीत पनि समाजसँगै स्वच्छन्द हुँदै गएको छ। जसलाई जे मन लाग्यो त्यही गर्ने प्रवृत्ति छ।’

उनले नयाँ पुस्ताले अघिल्लो पुस्ताको गीतसंगीतलाई अगाडि बढाउन नसकेको टिप्पणी गरे। उनले सुगम संगीतमा जति बिम्ब प्रयोग हुन्छ त्यति नै प्रभावकारी हुन्छ। डा. दाहालले लोकगीत पनि धेरै स्वच्छन्द रहेको बताए। डा. दाहालले भने, ‘यस्ता विकृत सांगीतिक भूकम्पले हाम्रा सुगम संगीतलाई हल्लाउने वाला छन्। त्यसैले यसलाई संस्थागत रूपमा अर्को पुस्तासम्म पुर्‍याउन सबै पक्षको पहल आवश्यक रहेको छ।

त्रिवि पाटन संयुक्त क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक डा. घिमिरेका गीत र गजल प्रकाशित छन्। अनुसन्धानमा विशेष रुचि राख्ने घिमिरेका विभिन्न जर्नलहरूमा अनुसन्धानमूलक सामग्री प्रकाशित छन्।

प्रकाशित: १७ साउन २०८२ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast