
काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबारमात्रै राजीनामा दिने भएका छन्। शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठमा भएको छलफलपछि उनले आइतबार राजीनामा दिने भएका हुन्।
बागमती प्रदेशमा राजनीतिक उथलपुथलपछि लामाले शनिबार गरी दोस्रोपटक पार्टी सभापति देउवालाई भेटेका हुन्। यसअघि बिहीबार उनले सभापति देउवासँग छलफल गरेका थिए। त्यसपछि लामाले शनिबार राजीनामा दिने बताइएको थियो।
मुख्यमन्त्री लामानिकट प्रदेश सांसद तीर्थ लामाले शनिबार राजीनामा आउने बताएका थिए। मुख्यमन्त्री लामाले हालसालै नियुक्त गरेका तीन मन्त्रीलाई आगामी सरकारमा समेत निरन्तरता दिने सर्तमा राजीनामा दिन तयार भएको बताइएको छ।
लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री गोविन्द लम्साल, युवा तथा खेलकुदमन्त्री माया श्रेष्ठ र सहकारी तथा गरिबी नियन्त्रणमन्त्री गीता गुरुङलाई नियुक्त गरेका थिए। अब बन्ने सरकारमा समेत यी तीन मन्त्रीलाई निरन्तरता दिने सर्तमा सहमति जुटेपछि मुख्यमन्त्री लामा पदबाट हट्न तयार भएको बताइएको छ।
सभापति देउवासँगको छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले हालै नियुक्त भएका तीनजना मन्त्रीलाई आगामी सरकारमा समेत निरन्तरता दिने सहमति भएको बताएका छन्।
लामा साउन १४ गते कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँसँग पराजित भएका थिए। त्यसअघि उनले तीन मन्त्री नियुक्त गरेका थिए। तर, सत्ता साझेदार दल नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूको सपथग्रहण रोकिदिएको थियो। यसका साथै स्वास्थ्यको कारण देखाउँदै प्रदेश प्रमुख पनि अनुपस्थित भएका थिए।
बागमती कांग्रेसमा पछिल्लो समय आएको मतान्तर व्यवस्थापन गर्न सभापति देउवाले आफ्नो निवास बूढानीकलण्ठमा छलफल बोलाएका थिए। छलफलमा मुख्यमन्त्री लामा पक्षका १४ प्रदेशसभा सदस्यसमेत सहभागी भएका थिए।
दलभित्र देखिएको विवादलाई एकतावद्ध गरी अघि बढ्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन्। सहमति जुटेसँगै यसअघि पदबाट नहट्ने अडानमा रहेका लामा राजीनामा दिन तयार भएका छन्।
लामाको राजीनामा आएसँगै बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अगाडि बढ्नेछ। संसदीय दलको नेतामा लामालाई पराजित गरेका बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित छ।