जसपा नेपाल सप्तरीमा विवाद, नेतृत्व चुन्न शनिबार मतदान

हिमाल प्रेस १६ साउन २०८२ १८:४५
20
SHARES
जसपा नेपाल सप्तरीमा विवाद, नेतृत्व चुन्न शनिबार मतदान

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीमा विवाद देखिएको छ। जसपा नेपालको दुई समूहबीच सप्तरीमा विवाद देखिएको हो।

विवाद सिर्जना हुँदा शुक्रबार नै सम्पन्न हुने भनिएको जिल्ला अधिवेशन लम्बिनएको छ। एकताको जिल्ला अधिवेशन भन्दै जसपा नेपालले बुधबारदेखि शुक्रबारसम्मको समय निर्धारण गरेको थियो।

तर, विवादका कारण सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शनिबार मतदानको समय तोकिएको छ। मतदाता नामावली प्रकाशनबाट सुरू भएको विवाद यतिबेला जसपा नेपालका दुई दाजुभाइ नेताबीचको बर्चस्वको लडाइँमा परिणत भएको छ।

सप्तरीमा राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले एउटा खेमाको नेतृत्व गरिरहेका छन् भने उनका सहोदर भाइ मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह यादव र उनका छोरा बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले अर्को समूहको नेतृत्व गरेका छन्।

प्रदेशसभा सदस्य अनिरुद्ध र उनका छोरा आतेश संस्थापननिकट उम्मेदवारलाई जिल्ला नेतृत्वमा ल्याउन चाहेका छन् भने मृगेन्द्रले विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवलाई अध्यक्ष पदको दाबेदारका रूपमा प्रस्तुत गरेका छन्।

अनिरुद्ध र आतेश भने जिल्लाका बहालवाला अध्यक्ष केदार यादवलाई पुनः दोहोराउन चाहेका छन्। केदार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन्।

सप्तरी जसपा नेपालका अध्यक्ष उपेन्द्रको चुनाव लड्ने जिल्लासमेत हो। २०७४ सालको निर्वाचनमा सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी २०७९ जनमतका सीके राउतबाट पराजित भए। आफ्नै निर्वाचन जिल्लाको अधिवेशन विवादमा तानिँदा अध्यक्ष उपेन्द्रलाई तनाव देखिएको नेताहरू बताउँछन्।

केदारलाई सर्वसम्म जिल्ला अध्यक्ष बन्न नदिनुको कारण हो– सप्तरीमा केन्द्रीय अध्यक्ष उपेन्द्रको बर्चस्वलाई धक्का दिनु। केदार पराजित भए अध्यक्ष उपेन्द्र हारेको सन्देश जाने नेताहरूको बुझाइ छ। वर्तमान अध्यक्ष केदार र सचिव दिनेश यादव जसपा नेपालका अध्यक्ष उपेन्द्रको विश्वासपात्र मानिन्छन्। दुवै जना संगठन निर्माणभन्दा गुटबन्दीलाई प्रश्रय दिएको आरोप दुवै जनामाथि लाग्दै आएको छ।

जिल्ला नेतृत्वका लागि पार्टीका दुई समूहबीच प्रतिस्पर्धा चलिरहे पनि अध्यक्ष उपेन्द्र भने तटस्थ बसेका छन्। अधिवेशनको उद्घाटन सत्रमै उनले पार्टीको आन्तरिक चुनाव भएकाले सहज रूपमा लिन अनुरोध गरेका थिए।

जसपा नेपालका प्रवक्ता मनिष सुमन जिल्ला नेतृत्वका लागि पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनुलाई स्वाभाविक ढंगबाट लिनुपर्ने बताउँछन्।

‘सर्वसम्मतिका लागि प्रयास भयो, सम्भव हुन सकेन। चुनावी प्रतिस्पर्धाबाटै नेतृत्व चुनिने भयो,’ उनले भने,‘पार्टीको आन्तरिक चुनाव हो, यसलाई सामान्य ढंगबाट लिनुपर्छ।’

उनले सात पदाधिकारीसहित ६७ पदका लागि शनिबार मतदान हुने जानकारी दिए।

प्रकाशित: १६ साउन २०८२ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast