एकीकृत समाजवादीको युवा संघमा भाँडभैलो

किरण पौडेल १६ साउन २०८२ २१:४१
338
SHARES
एकीकृत समाजवादीको युवा संघमा भाँडभैलो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र युवासंघका अध्यक्ष सञ्जीव राई।

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघमा आन्तरिक द्वन्द्व चर्किएको छ। राष्ट्रिय भेला आयोजना हुन नसकेको र संगठनको गतिविधि पनि ठप्प भएको कारण देखाउँदै असन्तुष्ट पक्ष आक्रामक बन्दा विवाद बढेको हो।

पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निकट युवा संघका नेताहरू संस्थापनलाई काउन्टर दिँदै समानान्तर गतिविधिमा लागेका छन्। उनीहरूले बुधबार पनि ‘उपत्यका स्तरीय युवा विशेष भेला’ बोलाएका थिए। भेलामा खनाल-भुसाल पक्षधर युवा-विद्यार्थी नेताले सम्बोधन गरेका थिए।

भेलाको संयोजन गरेका सञ्जीव राईका अनुसार नयाँ कमिटी गठन गर्ने तयारी भए पनि अन्तिममा रोकिएको थियो। राईले खनाल–भुसालले अध्यक्ष माधवकुमार नेपालसँग संवाद गर्ने आश्वासन दिएपछि रोकिएको बताए। तर देशभर समानान्तर गतिविधि फैलाउने तयारी राई पक्षको छ। उनीहरू संस्थापन पक्षको विरोधस्वरूप पनि युवा संघलाई सक्रिय बनाउन लागेका छन्।

युवा संघमा किन विवाद?

युवा संघको विवाद नयाँ होइन। अहिले भने यो विवाद रोचक बनेको छ। युवा संघको संयोजकमा रोशन थापा छन् भने सञ्जीव राई र धर्म शाही सहसंयोजक छन्। थापा उमेर हद (४० वर्षे प्रावधान) का कारण बाहिरने तरखरमा छन्।

नेपाल पक्षधर मानिने थापा नेतृत्व सुम्पिने तयारीमा रहे पनि विभिन्न कारणले पदमा बस्न बाध्य छन्। सहसंयोजक राई र शाही खनाल पक्षधर हुन्। समाजवादी स्रोतका अनुसार अबको नेतृत्व राई र शाहीमध्ये एकले लिनुपर्नेछ। किनभने संयोजक बाहिरिएपछि राई र शाहीकै पालो आएको हो।

राईले नेतृत्व लिए आफूले स्वीकार्ने समेत शाहीले बताएका छन्। संयोजक रहेका थापा छाड्न चाहन्छन् र शाही पनि राईलाई नेतृत्व लिन भनिरहेका छन्। राई भने समानान्तर गतिविधिमा लागेका छन्। समग्र युवा संघकै नेतृत्व लिन छाडेर राई किन समानान्तर बढाइरहेका छन्? खनाल पक्षीय एक नेताका अनुसार थापाले चाहेर पनि नेतृत्व छाड्न सकेका छैनन्। नेपालले उनलाई नेतृत्व नछाड्न निर्देशन दिएका छन्।

‘थापाजी नेतृत्व छाड्न चाहनुहुन्छ। उहाँको पारिवारिक विदेश भ्रमणलगायतका कारण पनि उहाँ छाड्नुपर्छ भन्नेमा हुनुहुन्छ,’ खनाल निकट एक नेता भन्छन्, ‘तर सञ्जीवलाई रोक्न संस्थापनबाटै थापा प्रयोग भइरहेका छन्।’ समग्रमा समाजवादीको नेतृत्व लिनकै लागि अहिले चलखेल चलिरहेको छ।

राई नेतृत्व लिन चाहन्छन् तर नेपालपक्षीय नेताहरू उनलाई नेतृत्वमा हेर्न चाहँदैनन्। खनालपक्षीय नेताहरू तत्काल राष्ट्रिय भेला चाहन्छन्। ‘हामी भेलाबाट नयाँ नेतृत्व चाहन्छौँ। अहिलेसम्म पनि छलफल भएको छैन’, राई भन्छन्। यसअघि भदौमा राष्ट्रिय भेला गर्ने भनिएको थियो। संस्थापन पक्षकै कारण अहिलेसम्म पनि महाधिवेशनको तयारी छैन। नेपालपक्षीय नेताहरू थापालाई नै नेतृत्व थमाउने र राईको उमेर हद लागेपछि मात्र राष्ट्रिय भेला गर्ने तयारीमा छन्।

समस्यामा थापा

संघका संयोजक रहेका थापा कुनै बेला खनाल निकट थिए। खनाल निकट स्रोतका अनुसार अहिले पनि थापाको खनालसँग सम्बन्ध राम्रो छ। उनी सञ्जीव रोक्नका लागि नेपाल पक्षधर देखिएका छन्। यस विषयले थापालाई समेत समस्या परेको हो।

‘म नेतृत्व छाड्न चाहन्छु। सञ्जीवजी बस्नुहोस् भनेकै छु,’ थापाले हिमालप्रेससँग भने। थापा आफैँ नेतृत्व छाड्न चाहँदा पनि पदमा बस्न बाध्य भएका छन्।

नेपालले सञ्जीवलाई भनेका थिए, ‘पहिले नितेश, त्यसपछि तपाईँ’

एमालेबाट विभाजित हुँदाका संयोजक नरेश शाहीले छाडेपछि विवाद बढेको हो। त्यसपछि संघमा आकांक्षीका रूपमा सहसंयोजकहरू कृष्ण विक र नितेश पौडेल थिए। पौडेल माधव नेपालका भान्जा हुन्। नेपालले विकलाई गृह क्षेत्रको जिम्मेवारी दिएर पौडेललाई युवा संघमा लैजान चाहेका थिए। उनले विकलाई म्याग्दी जिल्लाको समाजवादीको अध्यक्षको जिम्मेवारी दिएका थिए।

‘नेपाल (माधव नेपाल)ले विकलाई म्याग्दी पठाएर नितेश अध्यक्ष बनाउन चाहेका थिए। तर युवा नेताहरूले नितेशको नेतृत्व चाहेनन्,’ खनाल पक्षका एक नेता भन्छन्, ‘यही कारण विकलाई नेतृत्वमा ल्याउनुपर्‍यो यो। अनि नेपाल सञ्जीवसँग रिसाए।’

‘एक व्यक्ति, एक पद’को अवधारणा ल्याएर विकलाई युवा संघबाट हटाउन खोजिएको थियो। तर, विकले युवा संघको संयोजक लिएर पार्टीको जिल्ला अध्यक्ष छाडिदिए।

यसपछि युवा संघमा विवाद बढ्यो। नेपालका भान्जा पौडेलले समानान्तर गतिविधि गरे। गएको समाजवादीको महाधिवेशनसम्म समानान्तर गतिविधि रह्यो। महाधिवेशनमा नेपाललाई अध्यक्ष बनाउन खनाल तयार भएपछि समानान्तर गतिविधि रोकिएको थियो।

अर्कातिर नितेश आफैँ पार्टीको केन्द्रीय सदस्य बनेपछि स्वतः अध्यक्षको आकांक्षाबाट बाहिरिए। अहिले विक पनि नेतृत्वबाट बाहिरिएपछि विवाद बढेको हो। विकलाई समेत नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मार्फत हटाएर पार्टीको केन्द्रीय सदस्य बनाएका थिए। त्यसपछि एकाएक थापालाई संयोजक तोकिएको थियो।

युवा संघका इन्चार्ज लक्ष्मण केसी समस्या समाधान गर्ने प्रक्रिया चलिरहेको बताउँछन्। ‘समस्या देखिएको छ। अब निवारण पनि हुन्छ’, केसीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast