यात्रा संस्मरण

अक्करे भीरमा बसेका दुप्चेश्वर महादेव

राजाराम बर्तौला १७ साउन २०८२ १८:४६
18
SHARES
अक्करे भीरमा बसेका दुप्चेश्वर महादेव

साउनमा देवाधिदेव महादेव सदाशिवको दर्शन गर्ने भक्तको भीड लाग्छ शिवालयहरूमा। काठमाडौँको पशुपति र भक्तपुरको डोलेश्वरको त कुरै भएन। डोलेश्वरलाई केदारको पनि शिर भनिन्छ। यसबाहेक अन्य प्रसिद्ध शिवालयमा भक्त, भक्तिनी र श्रद्धालुको भीड लाग्नु कुनै अनौठो भएन। तर नुवाकोटको तादी नदीको तटमा अक्करे भीरमा बसेका महादेवको दर्शनार्थीको भीड हेर्न यो पढेपछि कुदेर जानुपर्छ।

त्यति सुनिएको थिइएन कि नुवाकोटको कोल्टे परेको पाखो भीरमा महादेवको बास छ। दुप्चेश्वर गाउँपालिकामा पर्छ दुप्चेश्वर महादेव अर्थात् यिनै महादेवका नामबाट यो गाउँपालिका नामकरण गरिएको हुनुपर्छ।

काठमाडौँ उपत्यकाको उत्तरमा बसेको शिवपुरी डाँडा काटेर नुवाकोट लागेपछि फेदी थानसिङमा पुगिन्छ र लिखु खोलामा बनेको चौघडा पुल तरेर पारिपट्टि पञ्चकन्या गाउँपालिका लागिन्छ। त्यस खोलामा निर्मित पुल तरेर एउटा डाँडापारि गएपछि तादी नदी भेटिन्छ।

तादी नदी सूर्यकुण्डदेखि बगेर आएकी हुन्। यिनलाई त्यसैले सूर्यमती पनि भनिन्छ र पवित्र मानिन्छ। तादीको तीरैतीर १५ किलोमिटर माथि गएपछि पुगिन्छ दुप्चेश्वर। बाटो पाँच किलोमिटर जति कच्ची रहे पनि अरू भाग पिच छ।

सनातनी वैदिक परम्परामा आउने देवीदेवताको सहर्ष नाम हुन्छन्। विष्णु सहर्षनाम भनेजस्तै। सम्भवतः भगवान् सदाशिव देवाधिदेव महादेवको अन्य भगवान्हरूको भन्दा धेरै नाम हुनुपर्छ। तिनै नामको शृंखलामा दुप्चेश्वर एक हो।

साउन र भोलेबाबाको नाम आएपछि दर्शन गर्न जाने इच्छा प्रबल भयो र पदयात्रा भनूँ या तीर्थयात्रा आयोजक हाइक फर नेपालमा नाम लेखाएँ। मन्दिर दर्शनपछि पदयात्रा पनि गर्न भ्याइएला भनेर झोला, लौरो, पानी र अन्य सामलतुमल बोकेर हिँडेको थिएँ।

बाँसबारीबाट सामाखुसी हुँदै टोखा र गुर्जेभन्ज्याङ नाघेर लिखु खोला पुगियो। लिखु पनि कहाँ लिखुरे थियो र! साउने झरीले होला फुर्तीले सुसेल्दै थियो। आकाश खुलेकाले होला प्रकृति खुलेर हाँसेकी थिइन्। लिखुपारि विशाल सालघारी छ। एकपटक मासिएर फेरि सामुदायिक संरक्षण पाएर होला वनैभरि हलक्क बढेका तन्नेरी सालका रूख देखिन्छन्। लिखु र तादीले सिञ्चित विशाल फाँट धानका हरिया गाँजले सुन्दर देखिएका छन्। खेतका गराबाट कलकल बग्ने पानीको आवाजले स्निग्धता र मुग्धता प्रदान गर्दछन्। हामी फाँटको दृश्यावलोकन गर्दै यिनीहरूको माधुर्य पान गर्दै अगाडि गयौँ।

लिखु त लिखुरे भइगयो। अलि तल गएर तादीमा समाहित हुन्छ। तादीको गढगडाहट हेर्न लायक छ। कतै चट्टानमा ठोक्किएर कतै खोंचमा बल्झिएर कतै शान्त त कतै उग्रनादसहित बगेकी देखिन्छिन् तादी। लाग्छ तादी शिवको जटाबाट झरेर पृथ्वीमा अवतरण भएकी हुन्। तादीको सौन्दर्य नियाल्दा-नियाल्दै बाहुनबेसी पुगिन्छ। बाहुन धेरै भएर यो ठाउँको नाम बाहुनबेसी भएको होला। योसम्म त ठिकै छ, खरानीटारचाहिँ किन नामकरण भयो होला? कसको झोकमा यो ठाउँ खरानीटार भयो होला? हुन सक्छ कुनै जोगीको कुटीको खरानीले अभिसप्त भएर खरानीटार नाम राखियो।

खरानीटारबाट घट्टेखोला पुल तर्दै सातबीसे कटेपछि पुगिन्छ दुप्चेश्वर गाउँपालिकाको समुद्रटार। यहाँ जलविद्युत् परियोजना त छनै साथै सबस्टेसन पनि छ। समुद्रटार एउटा सानो बजार क्षेत्र हो र यो दोभानमा छ। दक्षिणपट्टिबाट साकेखोला बग्छ भने उत्तरपाटो भएर तादी नदी। यहाँबाट केही किलोमिटर उत्तरपूर्व लागेपछि दुप्चेश्वर महादेव पुगिन्छ।

दुप्चेश्वर महादेवको दर्शन गर्न आएका भक्तका सवारीसाधनले पूरै खाली ठाउँ ढाकिएको थियो। यति धेरै सवारीसाधन आइपुगेका होलान् भन्ने कल्पना गरिएको थिएन। सोचेको भन्दा पृथक् यहाँ पुग्दा दर्शनार्थीको ओइरो देखियो।

दुई पहाडको खोंच बीचमा तादी उर्लेर बगेकी छिन्। वल्लो र पल्लो पहाड जोड्न तादीमाथि बनेको झोलुंगे पुलमा समेत मानिसको दोहोरीलत्त भीड छ। भीरको बीचमा महादेव बसेका छन्। तलदेखि सिँढी बनाएर लगिएको छ। कोही श्रद्धालु भीरबाट नलडून् भनेर सिँढीमा फलामे बारसमेत लगाइएको छ। सिँढीको फन्का लगाउँदै माथि चढ्नुपर्छ। हामी पुग्दा हजारौँ श्रद्धालु हातमा पुष्पथाली बोकेर लाइनमा धैर्यसाथ उभिएका थिए।

भगवान् आशुतोष बेलपत्र चढाएपछि प्रसन्न हुन्छन् भन्ने पौराणिक कथन छ। शिवलिंगलाई गाईको दूधले स्नान गराउँदा भगवान् खुसी हुन्छन् भन्ने पनि छ। महादेवको पूजालाई आवश्यक सबै सामग्री झोलुंगेपुल तर्नुअगाडि तादीतिरमा किन्न पाइन्छ।

दुप्चेश्वर महादेवको दर्शन गर्न जाँदा भुल्नै नहुने कुरो भनेको गाईको दुध हो। गाईको दूधसँग दुप्चेश्वरको कथा जोडिएको छ। आस्थाको पुञ्ज विश्वासको धरोहर दुप्चेश्वर महादेव हिन्दूको मात्र नभएर बौद्ध सम्प्रदाय र प्रकृतिपूजकहरूको समेत आस्थाको केन्द्र हो।

आस्थाले मानिसलाई पहाड चढाउँछ, नदी तराउँछ, असम्भव कार्य पनि गराउछ। विश्वासमा दुनियाँ अडेको हुन्छ, जसरी खगोलीय पिण्ड एकआपसमा आकर्षित भएर टिकेका हुन्छन्। विश्वासले नै हो सगरमाथाको शिखर आरोहण गर्ने। विश्वास, आस्था जीविकाको आधार पनि हो। जसरी स्थानीय किसानको अटल आस्था यो रहेको छ कि दुप्चेश्वर महादेव उनीहरूको जीविका रक्षाका मालिक हुन्। मानव, चौपायालगायत चराचर जगत्का संरक्षक हुन्। सिन्धुपाल्चोकका ह्योमो र स्थानीय तामाङको अटल आस्थाको प्रतीक हुन् दुप्चेश्वर महादेव। यहाँ धान्यपूर्णिमाको दिन विशाल मेला लाग्छ रे। ह्योल्मो र तामाङहरूले तान्त्रिक विधिद्वारा नाचगान गर्दै महादेवको आराधना गर्छन् भन्ने सुनियो। हिन्दुहरू सोमबारे व्रतसहित पूजाको थाली बोकेर बेलपत्र र दूध बोकेर चढाउन पुग्छन्।

ऊ बेलाको कथा हो, प्राचीनकालमा त्यस ठाउँका गोठालामध्येको कसैको कामधेनु गाई सधैँ दिनमा हराउने र साँझ घर जाने बेलामा देखा पर्ने गरेको रहेछ। त्यो कुरा चाल पाएका गोठालाले कामधेनुको पिछा गर्दा अहिलेको दुप्चेश्वर महादेव रहेको ठाउँमा आफ्नो दूध चढाउँदै गरेको देखेछन्। त्यसै समयदेखि गाउँलेले यहाँ गाईको दूध चढाउन थालेका हुन् भनिन्छ। यहाँ प्राकृतिक रूपमा उठेको लिंग स्वरुपको प्रस्थर छ। यही नै देवाधिदेव भगवान् शंकरलाई पुजिने लिंगाकृति हो। स्थानीय परम्पराअनुसार कसैको गोठमा गाई ब्यायो भने त्यसको दूध दुप्चेश्वरमा चढाउनुपर्छ।

कसैको गोठमा चौपाया बिरामी भएर नोक्सान भयो भने यहाँ दाम्लो चढाउने चलन रहेछ। यहाँ चढाएको दाम्लो लगेर गोठमा पशुलाई बाँधेपछि त्यसले चौपायाको रक्षा गर्दछ भन्ने विश्वास छ। यस अतिरिक्त निःसन्तानहरूले यहाँ आएर विधिपूर्वक पूजाअर्चना गरे सन्तान प्राप्ति हुन्छ भन्ने पनि मान्यता जब्बर भएर गाडिएको रहेछ।

आस्था र विश्वासले तीर्थाटन गराउँछ। यिनै आस्था र विश्वासलाई संयोजन गरेर साउनको अवसर पारेर हामी दुप्चेश्वर महादेवको दर्शन गर्न हिँडेका थियौँ। बिहानदेखि केही खाएका थिएनौँ। दुई बजिसकेको थियो। नजिकै एउटा गतिलो रिसोर्ट खुलेको रहेछ। त्यहाँ गएर आन्द्रा भरेपछि हामी चार बजेतिर फिर्ता भयौँ। बाटो साठी-सत्तरी किलोमिटर भएर मात्र के गर्नु? चार घन्टा जान र चार घन्टा आउन लाग्यो। जति नै समय लागे पनि यात्रा रोमाञ्चकारी, मनोवेगलाई आनन्द दिने र चित्त शान्ति प्रदान गर्ने किसिमको थियो। साथमा लगेको पदयात्राको लौरोको केही काम आएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast