
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीतिविपरित बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिएका छन्। शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भनेको भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टी बाट बिदा लिन सुझाव दिए।
उनले सम्मानित नेता खनालले पटकपटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाइको अर्थ नरहेको बताए।
नेता नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरुको व्यक्तिगत निर्णयअनुसार नै हुने धारणा व्यक्त गरे।
अध्यक्ष नेपालले शेरबहादुर देउवा र केपी ओली एक ठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए। उनले वर्तमान सरकार सबै क्षेत्रमा असफल भए पनि अर्को सरकार बन्ने सम्भावना नरहेको उल्लेख गरे।
उनले अहिले आफूहरु पार्टी संगठन सुदृढिकरण र समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपरेको बताए। अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकीकरण गर्ने कुरा नभएको र अहिले मोर्चा र सहकार्य गरेर अघि बढ्ने कुरा मात्रै भएको स्पष्ट पारे।