फिल्मी अनुहार थिएटरमा, ६ नाटक एकैपटक

सुस्मिता बजगाईं १६ साउन २०८२ १५:३२
80
SHARES
फिल्मी अनुहार थिएटरमा, ६ नाटक एकैपटक

काठमाडौँ- यतिबेला उपत्यकाका थिएटरहरूमा बाक्लो चहलपहल छ। कुनै थिएटरमा दुई नाटकबीच प्रतिस्पर्धा चलिरहेको छ। मण्डला, कौसी, कान्तिपुर, सर्वनाम थिएटर र ओस्कार कलेजमा गरी ६ नाटक मञ्चन भइरहेका हुन्। यी नाटकमा युवाको पीडा, महिला सशक्तीकरण, पहिचानका लागि प्रेम, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संघर्ष, फूलको कथालगायत विविध विषयले स्थान पाएका छन्। नाटक मञ्चनको संख्या बढेपछि कलाकार, निर्देशक र नाटक लेखक पनि नयाँनयाँ देखिन थालेका छन्। केही फिल्मका कलाकारहरू पनि रंगमञ्चमा व्यस्त देखिन्छन्।

कहाँ कस्तो नाटक मञ्चन भइरहेको छ त?

दोरुम्बा :  माओवादी द्वन्द्वकालको घटनामा आधारित नाटक हो ‘दोरूम्बा’। नाटक सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेज एन्ड फिल्म स्टुडियोको साधना घरमा मञ्चन भइरहेको छ।

नाटकमा द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही पक्षबाट पीडित जनताको कथा प्रस्तुत गरिएको छ। कलेजकै विद्यार्थीले अभिनय गरेको यो नाटक साउन १५ देखि २४ गतेसम्म मञ्चन हुनेछ। सुमनकुमार वाग्लेको लेखन रहेको नाटक सुदीप सिटौलाले निर्देशन गरेका हुन्।

जब फूलले आकार लिन्छ : सर्वनाम थिएटरमा साउन १२ देखि नाटक ‘जब फूलले आकार लिन्छ’ मञ्चन भइरहेको छ। फूलको कथामा आधारित नाटकले एक चित्रकार र रानीफूलको कथा भनेको छ।
नाटक थिएटरका २१ औँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुति, लेखन र निर्देशनमा बनेको हो। नाटकमा दुई पात्रको भोगाइ चित्रण गरिएको छ। एक प्रकृतिसँग रमाउन चाहने रानीफूल र अर्को चित्रकारको सिर्जनामा केन्द्रित छ। प्रकृतिसँग प्रसन्न हुने रानीफूल मन्दिर क्षणिक सजिने भएपछि विद्रोहमा उत्रिन्छ। आफ्नो पहिचान खोज्छ। रानीफूल आफैँभित्र खुसी हुन खोज्छिन्।

एक चित्रकार आफ्नै रूपका कारण परिवार र समाजबाट अपहेलित छ। उसका सिर्जना सुन्दर छन्। ऊ बाहिरीभन्दा भित्री सुन्दरतालाई महत्त्व दिन्छ। यी दुई पात्र जसले जीवनयात्राका क्रममा भोगेका संघर्षमा नाटक घुमेको छ। नाटकमा गायत्री जोशी, सुमीक्षा न्यौपाने, इस्मिता भुसाल, अञ्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाईं, मनोज बोहरा, पवन थापालगायत कलाकारको अभिनय छ। नाटक आइतबारसम्म मञ्चन हुनेछ।

स्वर्णदेश :  अवैध बाटो हुँदै अमेरिका जाने नेपाली युवाको कथामा आधारित नाटक हो ‘स्वर्णदेश-द ड्रिमल्यान्ड अफ मिल्क एन्ड गेभ्स’। नाटक साउन ९ देखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

सरिता कठायतको लेखन रहेको नाटक रंगकर्मी आकाश नेपालीले निर्देशन गरेका हुन्। यो नाटक उनको डेब्यु निर्देशन हो। पासपोर्ट त्यागेर जंगलको बाटो हिँड्दै अमेरिका पुग्ने रुकुमका युवा नाटकमा देखिन्छन्। मञ्चको भित्तामा जंगलको दृश्य देखाइन्छ भने स्टेजमा कलाकार भीरपाखा र खोलाका विभिन्न बाधाअड्चनसहित बाटो काटिरहन्छन्। परिवारको सम्झना, आफ्नो सपना सम्झिँदै हिँडेका युवा गन्तव्यमा पुग्छन् कि पुग्दैनन् भन्ने दृश्य नाटकमा हेर्न पाइन्छ।

साउन २५ सम्म मञ्चन हुने नाटकमा सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपी लुहार, जर्निको ‘निक’ कल्मर, सन्देश कार्की, परितोषिका पन्त, उज्वल बान्तवा राई, चिराग पनेरु, आरती गौतम, अनिल कुर्मी र आदित्य मिश्रले अभिनय गरेका छन्। नाटक योलो इन्टरटेनमेन्ट र शुभकाशाको सहकार्यका निर्माण भएको हो।

शिरीषको फूल :  साहित्यकार पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ मा आधारित नाटक गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन भइरहेको छ। उपन्यासमा सुयोगवीर र सकमबरीबीचको प्रेम र अन्तरद्वन्द्व देखाइएको छ। उपन्यासको कथालाई पत्रिका घिमिरेले नाटकमा उतारेकी हुन्।

नाटकमा फिल्मका कलाकार जीवन लुइँटेल र सनिशा भट्टराईसँगै राज न्यौपानेले अभिनय गरेका छन्। जीवन र सनिशाको यो डेब्यु नाटक हो। जीवन सुयोगवीरको भूमिकामा छन्। सनिशा सकम्बरी बनेकी छन् भने शिवराजको चरित्रमा राज देखिएका छन्। साउन ८ देखि सुरु भएको नाटक २७ गतेसम्म मञ्चन हुनेछ।

कागताली :  टेकुस्थित कौसी थिएटर (कथा घेरा) मा नाटक ‘कागताली’ मञ्चनरत छ। रेडियो नाटक शैलीमा प्रस्तुत गरिएको नाटक महिला सशक्तीकरणका विषयमा आधारित छ।

नाटकमा विवश र शीतल पात्रको वैवाहिक वार्षिकोत्सव मनाउने तयारी छ। तर विवश घरबाहिर रहेको बताइन्छ। पत्नी शीतललाई ‘सरप्राइज’ दिने सोचले विवश घर आइपुग्छ। घरमा शीतलले साथी सुरजलाई बोलाएकी हुन्छे। पत्नीले आफू घर नभएको मौकामा अरू केटा बोलाएको भन्दै आवेगमा तीनजनाबीच वादविवादमै विवशले खुकुरी निकाल्छ। अन्त्याम ऊ आफैँ त्यसको सिकार बन्छ। नाटक भोज खान आमन्त्रित पाहुनाहरूको प्रवेशसँगै अघि बढेको छ।

दुई दशकअघिको परिवेशमा तयार पारिएको नाटकमा विवाहपछि महिला घरायसी काममात्र तल्लीन हुनुपरेको भन्दै आत्मनिर्भरका लागि शिक्षित हुनुपर्ने सन्देश पाइन्छ।

साउन ७ देखि मञ्चन हुन थालेको नाटक ३१ गतेसम्म मञ्चन हुनेछ। चन्द्र अर्यालको लेखन र निर्देशनमा बनेको नाटकमा बास्ना तिमिल्सिना, रुपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अमृत कौचा, सुष्मा निरौला, दीपेन्द्र शाही, युबिना भट्टराई र आकृति बुढाथोकीको अभिनय छ।

चन्द्रलाई कसले मार्‍यो? :  मण्डलामा मञ्चन भइरहेको नाटक ‘चन्द्रलाई कसले मार्‍यो’ ले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा उठाएको छ। मञ्चमा विरलै देखिने यो समुदायको कथाले यसपटक भने केन्द्रमै उनीहरूको पीडा उजागर गर्न सफल भएको छ। महिला/पुरुषको स्वरूपमा जन्मेका मानिसको शारीरिक विकाससँगै बनावट, बोली र व्यावहारमा आउने परिवर्तनलाई समाजले किन स्वीकार्न सक्दैन्? भन्ने प्रश्न नाटकले उठाएको छ। नाटकले चन्द्र पात्रको कथामार्फत उक्त समुदायको आममानिसको कथा बोलेको छ।

नाटकका परिकल्पनाकार, लेखक तथा निर्देशक सन्दीप श्रेष्ठ हुन्। नाटकको मुख्य भूमिकामा पनि सन्दीप नै छन्। उनको सहयोगी भूमिकामा भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, किरण चापागाईं र पृतिशा अधिकारीले अभिनय गरेका छन्। असार २५ देखि मञ्चनरत नाटक साउन १८ सम्म मञ्चन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast