
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुमाथि प्यालेस्टिनसँगकोझ युद्ध रोक्न अन्तर्राष्ट्रिय दबाब बढेको छ। नेदरल्यान्डस्ले गाजामा बढ्दो मानवीय संकटका कारण इजरायली मन्त्रीलाई प्रतिबन्ध लगाएको छ। नेदरल्यान्डस्का परराष्ट्रमन्त्री कास्पर फेल्डकाम्पले इजरायललाई एक औपचारिक पत्र लेख्दै दुईजना इजरायली मन्त्रीमाथि यात्रा प्रतिबन्ध लगाएका हुन्। पत्रमा लेखिएको छ, गाजामा युद्ध अब रोकिनै पर्छ।
नेदरल्यान्डस्ले इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन ग्विर र वित्त मन्त्री बेजालेल स्मोट्रिसमाथि यात्रा प्रतिबन्ध लगाएको हो। यी दुई नेता कट्टर दक्षिणपन्थी हुन् । उनीहरू नेतन्याहुको गठबन्धन सरकारका बलिया खम्बा मानिन्छन्। उनीहरू इजरायली बस्ती विस्तारको अभियान र गाजामाथि भइरहेको युद्धको कट्टर समर्थन गर्छन्। इजरायलमाथि बेलायत, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र नर्वेले आर्थिक प्रतिबन्ध लगाइसकेका छन्।
युरोपेली संघको मुख्यालय ब्रसेल्समा मंगलबार साँझ ईयूका नेताहरूको बैठक बस्दै छ। बैठकमा इजरायलप्रति युरोपेली संघको साझा नीति र सम्भावित प्रतिक्रियाबारे छलफल गरिनेछ। समाचार संस्था एपीका अनुसार इजरायलसँगको व्यापारिक सम्झौताको समीक्षा पनि एजेन्डामा छ। नेदरल्यान्डस्ले इजरायलसँगको व्यापारसम्बन्धी केही सम्झौता निलम्बन गर्न प्रस्ताव गर्नेछ।
पछिल्ला दिनमा विश्वका धेरै शक्तिशाली देशहरूले इजरायल वा अमेरिकाको असन्तुष्टिको पर्वाह नगरी मानवीय संकट समाधानका पक्षमा समर्थन गर्न थालेका छन्।
गाजामा कुपोषण र भोकमरीको अवस्था भयावह छ। त्यहाँबाट प्राप्त भिडियोमा भोकका कारण बालबालिका कंकालझैँ देखिन्छन्। प्रत्येक दिन खाद्यान्नका लागि मानिस एकअर्कासँग झगडा गरिरहेका छन्। यस्ता दृश्य सार्वजनिक भएपछि युरोपेली मुलुकमा सरकारमा पनि दबाब बढेको हो।
अन्तर्राष्ट्रिय दबाब बढ्दै गए पनि इजरायलका मन्त्रीद्वय बेन ग्विर र स्मोट्रिसले आफ्नो अडान यथावत् राखेका छन्। स्मोट्रिसले युरोपका नेताहरू ‘कट्टरपन्थी इस्लामका झूटहरू’ का अगाडि नतमस्तक भएको आरोप लगाए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युरोपमा यहुदी इजरायली मन्त्रीहरू अवाञ्छित छन्, आतंकवादीहरू स्वतन्त्र छन् र यहुदीहरू बहिष्कृत भइरहेका छन्।’
इजरायलमाथि गाजामा जनसंहारको आरोप लाग्न थालेको छ। इजरायलका दुई प्रमुख मानवअधिकार संस्था बेतसेलेम र फिजिसियन्स फर ह्युमन राइट्सले जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा इजरायली सरकारले सुनियोजित ढंगमा गाजा र प्यालेस्टिनी समाजलाई नष्ट गर्न खोजेको आरोप लगाएका छन्।
बेतसेलेमका कार्यकारी निर्देशक युली नोभाकले भने, ‘आज हामीले जुन प्रतिवेदन सार्वजनिक गरेका छौँ, त्यसको कल्पना पनि गर्न सक्दैनथ्यौँ। गाजाका जनताले विस्थापन, बमबारी, भोकमरी भोगिरहेका छन्। उनीहरूलाई मानव अधिकारबाट पूर्णतः वञ्चित गरिएको छ।’
फिजिसियन्स फर ह्युमन राइट्सले गाजाको स्वास्थ्य संरचनालाई ध्वस्त पार्न इजरायलले योजनाबद्ध रूपमा आक्रमण गरेको दाबी गरेको छ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले भने जनसंहारका आरोपको भर्त्सना गर्दै आएका छन्। इजरायली सरकारका प्रवक्ताले यी दुई एनजीओहरूको रिपोर्टलाई ‘आधारहीन’ भन्दै खारेज गरिएको बताए।
गाजामा युद्धमा भइरहेको मानवीय संकट र त्यसविरुद्ध विश्वभरबाट उठेका आवाजले इजरायली नेतृत्वलाई चर्को अन्तर्राष्ट्रिय दबाबको सामना गर्नुपरिरहेको छ। यद्यपि नेतन्याहु सरकार अझै पनि कठोर नीतिमा अडिग देखिन्छ।
कुपोषणग्रस्त बालबालिकाका तस्बिर र भोकका कारण भएको मृत्युका घटनाबारे बढ्दो अन्तर्राष्ट्रिय विरोधका कारण इजरायलले गाजा क्षेत्रमा थप मानवीय सहायता उपलब्ध गराउन बाध्य भएको छ। यसै साता इजरायलले गाजाका केही भागमा युद्ध रोक्यो र हवाई मार्गबाट खाद्यान्न झारेको थियो।
सहायता समूहहरू र प्यालेस्टिनीहरू यसप्रति सन्तुष्ट छैनन्। उनीहरूका अनुसार युद्धग्रस्त गाजामा देखा परेको भोकमरीको सबैभन्दा खराब परिदृश्य उल्टाउन यस्ता सहायता पर्याप्त छैनन्।
गाजामा प्रवेश गर्ने सहायता ट्रकहरूको संख्यामा केही वृद्धि भए पनि सामग्री वितरणका लागि संयुक्त राष्ट्रसंघका गोदामसम्म पुग्न सकेका छैनन्। उल्टै सीमाबाट अघि बढ्ने क्रममा ती ट्रकहरू सडकमा भीडद्वारा रोकिन्छन् र लुटिन्छन्। भीडमा खाना नपाएर छटपटाएका प्यालेस्टिनीहरूदेखि लिएर चक्कु र पेस्तोल बोकेका समूह हुन्छन्, जसले सहायता लुटेर जम्मा गर्छन् वा बेच्ने काम गर्छन्।
धेरै मानिस यस्ता सहायता लिन खोज्दा मारिएका पनि छन्। प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले सहायता ट्रक वरिपरि भीडमा गोली चलाउँछ। इजरायली सेनाले भने आफूले भीड नियन्त्रण गर्न वा आफ्ना फौज नजिक पुग्नेहरूलाई चेतावनीस्वरूप मात्र गोली चलाएको दाबी गर्छ।
संयुक्त राष्ट्रसंघ (यूएन) का अनुसार लामो समयदेखि सहायता आपूर्तिमा लगाइएको प्रतिबन्धका कारण अनिश्चित अवस्था उत्पन्न भएको छ। युद्धविरामले केही सहायता भित्रिन सक्ने अवस्था बनाउला भन्ने आशा भए पनि प्यालेस्टिनीहरूमा त्यो सहायता आफूहरूसम्म पुग्नेछ भन्ने विश्वास छैन।
‘यसका कारण हाम्रो धेरैजसो सहायता गाडी भोकभोकै रहेका, निराश मानिसले सीधै खोलेर सामान निकाल्ने गरेका छन्, किनभने उनीहरू अझै गहिरो भोकको स्थितिमा छन् र आफ्नो परिवारको पेट भर्न संघर्ष गरिरहेका छन्’, संयुक्त राष्ट्रसंघीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) की प्रवक्ता ओल्गा चेरेभ्कोले समाचार संस्था एपीसँग भनिन्।
इजरायलले मार्चदेखि करिब दुई महिनासम्म गाजामा खाद्यान्न पूर्ण रूपमा प्रवेशमा रोक लगाएको थियो। मे अन्त्यतिर नाकाबन्दी केही खुकुलो बनाएपछि राष्ट्रसंघका दैनिक करिब ७० वटा ट्रक मात्र प्रवेश दिइएको थियो। राष्ट्रसंघीय एजेन्सीहरूका अनुसार गाजामा दैनिक ५००–६०० ट्रक सहायता सामग्री आवश्यक छन्।
धेरैजसो सहायता सामग्री गाजाको सिमानाभित्रै थुप्रिएका छन्। किनभने राष्ट्रसंघका ट्रकहरूले सामान उठाउन सकेका छैनन्। इजरायली सेनाले लगाएको प्रतिबन्ध र गाजामा फैलिएको अराजकता कारण यस्तो अवस्था उत्पन्न भएको हो।
इजरायलले भने गाजामा पर्याप्त मात्रामा सामग्री भित्रिन दिएको दाबी गर्दै दोष राष्ट्रसंघमाथि थोपरिरहेको छ। इजरायली सहायता समन्वय एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, ‘संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूले निरन्तर रूपमा सहायता उठाउन र वितरण गर्न सके भने गाजामा सबैभन्दा आवश्यक परेकाहरूलाई सहायता पुर्याउन सकिन्छ।’
यस साता लागू गरिएको नयाँ कदमअनुसार मंगलबार र बुधबार २२०-२७० ट्रकहरू गाजामा प्रवेश गर्न दिइएको छ। प्रवक्ता चेरेभ्कोले भनिन्, ‘इजरायली सेना केही हदसम्म लचक हुँदा ट्रकहरूका लागि प्रतीक्षा समय थोरै घटेको छ।’
सहायता कार्यहरू अझै पनि गम्भीर समस्याको सामना गरिरहेको उनको भनाइ छ। सेनाले अनुमतिमा ढिलाइ गर्दा ट्रकहरू लामो समयसम्म रोकिएका छन्। सेनाले अझै पनि ट्रकहरूलाई एउटै मार्गमा मात्र चल्न दिएको छ। विश्व खाद्य कार्यक्रमका गाजा र वेस्ट बैंक प्रमुख एन्तोआन रेनार्डले बुधबार भने, ‘१० किलोमिटर दूरीमा ५२ ट्रक ल्याउन झन्डै १२ घण्टा लागेको थियो।’
सहायता कार्यकर्ताहरू इजरायलले हालैका दिनमा गरेको परिवर्तन प्रायः सतही मात्र रहेको टिप्पणी गर्छन्। ‘यी केवल देखावटी नाटक हुन्, प्रगतिका नाममा केही सानो कदमहरू मात्र’, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामकी नीति प्रमुख बुश्रा खालिदीले भनिन्। केही ट्रकहरू र आकाशबाट खसालिएका सहायता सामग्रीले गाजामा भएको अपूरणीय क्षति पूरा गर्न नसक्ने उनको भनाइ छ।
एक ट्रक चालक गाजाको उत्तर सिमानामा रहेको जिकिम क्रसिङबाट खाद्यान्न बोकेर चार पटक गएका थिए। प्रत्येकपटक सिमानाबाट भित्र पसिसकेपछि करिब एक किलोमिटर लामो भीडले ट्रक घेरेर सबै सामग्री लुटेको ती चालकको भनाइ छ। उनले भने, ‘भीडमा केही मानिस भोकभोकै थिए भने केही हतियारधारी थिए।’ उनले आफूलाई चक्कु र बन्दुक देखाएर धम्की दिइएको पनि बताए।
अर्का ट्रक चालक अली अल डर्बासीले भने, ‘जुलाईको एक यात्रामा केही सशस्त्र व्यक्तिहरूले ट्रकको टायरमा गोली हाने, इन्धन र ब्याट्री लुटे र मलाई कुटपिट गरे। मानिसहरू भोकमरीको अवस्थामा नपुगेका भए उनीहरूले यस्तो गर्ने थिएनन्।’