
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आलोचकहरूलाई रुसी नेता जोसेफ स्टालिनको शैलीमा राजनीतिक रूपमा सफाया गर्न थालेको आरोप लगाएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणी गर्दै डा.भट्टराईले एमाले र माओवादी केन्द्र दुबै पार्टीमा चर्किंदो आन्तरिक संघर्ष र निषेधात्मक प्रवृत्तिहरूको आलोचना गरे। उनले स्टालिनकालीन ‘ग्रेट ट्रायल’ (१९२७–३८) को सन्दर्भ दिँदै अहिलेका कम्युनिस्ट नेताहरू पनि आफ्ना विरोधी र आलोचकहरूलाई पार्टी र सत्ताबाट हटाउने प्रवृत्तिमा लागेको आरोप लगाए।
‘मुख्य नेतृत्वसँग आँखा जुधाउने वा आलोचना गर्नेहरूलाई विभिन्न आरोप लगाएर सदाका लागि पार्टी र सत्ताबाट बिदा गर्ने प्रवृत्ति अहिले पनि उत्तिकै हावी छ,’ उनले ओली र प्रचण्डलाई लक्षित गर्दै भने, ‘स्टालिनकै झल्को आउने गरी नेपालका ‘कम्युनिस्ट’ मठाधीशहरूले भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्दै छन्। यो इतिहासको ठूलो विडम्बना हो।’
डा.भट्टराईले नेपालमा कम्युनिस्ट आन्दोलन अब पतनको दिशातर्फ उन्मुख भएको दाबी गरे। ‘रूसमा जस्तै नेपालमा पनि कम्युनिस्ट आन्दोलन विलाएर जाने चरणमा पुगेको छ,’ उनको भनाइ छ।
भट्टराईले अहिलेका कम्युनिस्ट पार्टीहरूलाई बाहिरी रूपमा सुन्निएको तर भित्री रूपमा खोक्रिएको संज्ञा दिए। एमाले र माओवादी केन्द्रभित्र देखिएको निषेधात्मक र अधिनायकवादी अभ्यासलाई औंल्याउँदै उनले वर्तमान कम्युनिस्ट संरचनामा वैचारिक स्खलन र बन्ध्याकरण तीव्र रूपमा फैलिएको उल्लेख गरे।