
गोरखा-अजिरकोट गाउँपालिका, भच्चेक, गोरखाले आर्थिक वर्ष २०८२/०८३ का लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र बायोमेट्रिक प्रणालीमार्फत नवीकरण गरिने जानकारी दिएको छ।
गाउँपालिकाले स्थायी ठेगाना अजिरकोटमा राखी हाल अस्थायी रूपमा काठमाडौँमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूलाई लक्षित गर्दै काठमाडौँमै नवीकरणको व्यवस्था मिलाएको हो।
यस प्रक्रियाअन्तर्गत लाभग्राहीहरूले २०८२ साल साउन ३० र ३१ गते बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म नयाँबजारस्थित सगुन क्याफे, काठमाडौँमा उपस्थित भई आफ्नो परिचयपत्र नवीकरण गराउनु पर्नेछ। नवीकरण गर्दा सेवा प्राप्त गर्ने लाभग्राहीले अनिवार्य रूपमा केही कागजातहरू साथमा ल्याउनु पर्ने जनाइएको छ।
परिचयपत्र नवीकरणका लागि आवश्यक कागजातहरूमा हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित व्यक्तिको अवस्था अनुसार अन्य आवश्यक प्रमाणपत्रहरू पर्नेछन्।
तीमध्ये बालबालिकाका हकमा जन्मदर्ता प्रमाणपत्र र सूचकको नागरिकता, विधवा महिलाका लागि पतिको मृत्युदर्ता प्रमाणपत्र, सम्बन्धविच्छेद गरेकी महिलाका लागि सम्बन्धविच्छेद प्रमाणपत्र र अविवाहित सिफारिस तथा अपांगता भएका व्यक्तिका लागि अपांगता परिचयपत्रको प्रतिलिपि अनिवार्य हुने जनाइएको छ।
यस्तै, १६ वर्ष उमेर नपुगेका बालबालिका, शारीरिक वा मानसिक रूपमा अशक्त लाभग्राही तथा ९० वर्षमाथिका जेष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र नम्बर भने अनिवार्य नरहने स्पष्ट गरिएको छ।
सामाजिक सुरक्षा भत्ता नवीकरण प्रक्रिया सरल, सहज र प्रभावकारी बनाउन यो विशेष कार्यक्रम काठमाडौँमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।
थप जानकारीका लागि करिश्मा गुरुङसँग सम्पर्क गर्न सकिनेछ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम पन्तका अनुसार लाभग्राहीले निर्धारित मिति र समयमै आवश्यक कागजातसहित उपस्थित भई परिचयपत्र नवीकरण गर्नुपर्नेछ।