
काठमाडौँ- मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेलाई यथावत् राख्ने तयारी गरेका छन्। दुवै मन्त्री हालै मात्र नियुक्त भएकाले उनीहरूलाई निरन्तरता दिन प्रधानमन्त्री इच्छुक छन्। पोखराको लिची बगान घुस प्रकरणमा राजकुमार गुप्ताले राजीनामा दिएपछि ओलीले न्यौपानेलाई सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए।
हाल विद्यालय शिक्षा विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको अवस्थामा विधेयकको गाँठो फुकाउन र स्वार्थ समूहलाई सहमतिमा ल्याउन सक्ने ‘क्षमता’ शिक्षामन्त्री पन्तमा देखेका ओलीले उनको निरन्तरता चाहनु स्वभाविक भएको बुझाइ छ।
सत्तारूढ गठबन्धनको अर्का घटक कांग्रेसभित्र भने मन्त्री फेर्ने विषयमा सहमति जुट्न नसकेको स्रोतहरू बताउँछन्। कांग्रेस सभापति शेरबहादुर देउवाले परराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखक, सहरी विकासमन्त्री प्रकाशमान सिंह र स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई नहटाउन आग्रह गरेका छन्। बाँकी मन्त्रीहरू फेरिए पनि ठिक तर यी चारलाई हटाए पार्टीभित्र असन्तुलन हुने डर देउवालाई छ।
प्रधानमन्त्री ओलीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि यथावत् राख्ने मनस्थितिमा छन्। पार्टीको विधान निर्माणदेखि बजेट कार्यान्वयनसम्मको भूमिकालाई आधार मान्दै ओलीले पौडेलप्रति विशेष विश्वास व्यक्त गरेका छन्।
यसैबीच, लिची बगान घुस प्रकरणमा तानिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र उद्योग मन्त्री दामोदर भण्डारीलाई हटाउने तयारी बालुवाटारको रहेको छ। रक्षामन्त्री मानवीर राई र श्रममन्त्री शरतसिंह भण्डारीलाई पनि फेर्ने चर्चा छ।
एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल नभएको बताए पनि बालुवाटारमा त्यसबारे गम्भीर तयारी भइरहेको स्रोतहरू बताउँछन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने मन्त्री हेरफेरबारे कुनै औपचारिक छलफल नभएको दाबी गरेका छन्।