तराईमा पानी पुन: भरण योजना आवश्यक छ, डिपबोरिङ जडानमात्र समाधान होइन : मुख्यमन्त्री सिंह

हिमाल प्रेस १६ साउन २०८२ ५:५४
36
SHARES
तराईमा पानी पुन: भरण योजना आवश्यक छ, डिपबोरिङ जडानमात्र समाधान होइन : मुख्यमन्त्री सिंह

सिरहा- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा बढ्दो पानी संकट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनः भरण योजना अत्यावश्यक भएको बताएका छन्। बिहीबार लहानमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले पानीको सतह घट्दै जाँदा डिपबोरिङ जडान गर्नुमात्र समाधान नभएको स्पष्ट पारे।

‘जहाँ ठूलो डिपबोरिङ गाडिन्छ,त्यस वरिपरिका बस्तीहरूमा पानी सुक्ने समस्या देखिन थालेको छ। जमिनबाट लगातार पानी त निकालिन्छ तर पुनः सोस्ने वातावरण छैन। पानी जमिनसम्म पुग्न नपाउँदा भूमिगत स्रोतहरू रित्तिँदै गएका छन्’, मुख्यमन्त्री सिंहले भने, ‘त्यसैले दीर्घकालीन समाधानका लागि पानी पुनःभरणलाई प्राथमिकता दिनु आवश्यक छ।’ उनले ‘रेनवाटर हार्वेस्टिङ’ (वर्षाको पानी संकलन प्रणाली) र जमिनले वर्षाको पानी सोस्ने वातावरण सृजना गर्न आवश्यक रहेको बताए।

मुख्यमन्त्री सिंहका अनुसार अहिलेका सडक, ढल र नालाहरू ‘सिमेन्टेड’ भएकाले वर्षाको पानी जमिनमा पस्यो भनेर सोच्नै नसकिने अवस्था छ। ‘पानी सडकबाट नालामा र त्यसपछि खोलामा पुग्छ। जमिनसम्म टच नै हुँदैन। जमिनले पानी सोस्न नपाउँदा भूमिगत जल पुनःभरण प्रक्रिया अवरुद्ध भएको छ।’

मुख्यमन्त्री सिंहले चुरे संरक्षणलाई पनि पानी पुनः भरणसँग प्रत्यक्ष रूपमा जोडेर हेर्नुपर्ने बताए। ‘चुरे क्षेत्र तराईका लागि पानीको मुटु हो। त्यहाँको वनस्पतिले पानीलाई रोक्छ र विस्तारै जमिनमा पठाउँछ। तर अहिलेको अनियन्त्रित दोहन, फँडानी र उत्खननले त्यो प्रक्रिया समाप्त पारिरहेको छ’,उनले चिन्ता गरे।

उनले स्थानीय तहलाई घर नक्सापास गर्दा ‘रेनवाटर हार्वेस्टिङ’ अनिवार्य बनाउन, रिचार्ज पोखरी निर्माण गर्न र सिमसार क्षेत्रको संरक्षण गर्न आग्रह गरे। यी कामहरू अभियानकै रूपमा अगाडि बढाउन आवश्यक रहेको मुख्यमन्त्री सिंहको भनाइ छ।

यसवर्ष मधेशलाई सुक्खा प्रदेश घोषणा गरिसकिएको छ। पचास प्रतिशतभन्दा कम रोपाइँ भएको छ। भूजलको सतह घट्दै गएको र जमिनको क्षयीकरणले भविष्यमा मरुभूमिकरणको खतरासमेत बढेको मुख्यमन्त्रीको भनाइ थियो।

प्रकाशित: १६ साउन २०८२ ५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast