
खोटाङ- ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार २०८२’ सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामविक्रम थापालाई प्रदान गरिएको छ। शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शिक्षक थापालाई रु १० हजार राशिको पुरस्कार प्रदान गरिएको हो।
शिक्षण पेसामा प्रवेश गर्नुअघि तत्कालीन गाविस सचिव पदमा कार्यरत शिक्षक थापा २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागिरबाट बर्खास्त भएका थिए।
सहिद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापालाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले जानकारी दिए।
सहिद मनोज जोशीको ३४औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कृत शिक्षक थापालाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।
दिक्तेलको अस्पतालचोकस्थित सहिद जोशीको समाधिस्थलमा आयोजित कार्यक्रममा सहिद जोशीको सालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो।