 प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै रास्वपाका सांसद असीम शाह।
                             प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै रास्वपाका सांसद असीम शाह।
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिला आफ्ना मन्त्रीको अनुहारमा लागेको भ्रष्टाचारको धुलो मेटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै उनले भने, ‘धुलो त तपाईँहरूकै मन्त्रीपरिषद्का सदस्यको अनुहारमा लागिरहेको छ, अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त?’
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रास्वपालाई ‘व्यवस्था विरोधी’ भनेको विषयप्रति असहमति जनाउँदै सांसद शाहले रास्वपाको भूमिका जनहितमा रहेको बताए। उनले भने,’हामी संसद् विरोधी होइनौँ। यही व्यवस्थाभित्रै बसेर भ्रष्टाचारको सफाया गर्ने अभियानमा होमिएका हौँ। हाम्रो डीएनए पनि त्यही हो।’
शाहले भिजिट भिसा प्रकरणमा सरकार मौन रहेको भन्दै गृहमन्त्रीलाई प्रश्न गर्दै भने, ‘मानव तस्करहरूको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्रीलाई सोध्छु। जनताले यो प्रकरण बिर्सन्छन् भनेर गल्ती नगर्नुहोस्। हामी जनतालाई कुनै पनि हालतमा बिर्सन दिने छैनौँ।”
उनले पूर्वमन्त्री राजकुमार गुप्ताको राजीनामा र त्यसपछिको छानबिन प्रक्रियामाथि पनि प्रश्न उठाए। ‘भ्रष्टाचारको अडियो बाहिर आउँदा घुस मागेको प्रमाण आयो। राजीनामा दिएपछि सबै पाप पखालियो? राजीनामा पो गंगास्नान पो रहेछ जहाँ पुगेपछि सबै उन्मुक्ति पाइन्छ?’ उनले कटाक्ष गरे।
शाहले सोही अडियोमा नाम जोडिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई ‘अदृश्य शक्तिको संरक्षण’ भइरहेको आरोप समेत लगाए। ‘के उहाँहरूका लागि यो देशमा अर्कै कानुन लागू हुन्छ? छानबिन हुनु पर्दैन?’ उनको प्रश्न छ।
उनले वन मन्त्रालयमा भएको भनिएको अनियमितताबारे पनि टिप्पणी गरे। ‘वनमन्त्रीको त लीला नै अपरम्परा सुनियो। हुँदै नभएको कार्यक्रम देखाएर श्रीमती र स्वकीय सचिवलाई सरकारी खर्चमा नर्वे सयर गराइयो। देश थिलथिलो अवस्थामा छ। जनताको करमा यस्तो रमाइलो वनभोज?’ उनले भने, ‘सरकारलाई लाज छैन होला, तर हामीलाई लाज लागिसक्यो।’
शाहले सरकारलाई चुनौती दिँदै भने, ‘सरकारसँग नैतिकता बाँकी छ भने अनुसन्धानको झाडु अन्त होइन, सिंहदरबारकै मन्त्रीपरिषद्बाट सुरु होस्।’ उनले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिनका लागि रास्वपाको आन्दोलन जारी रहने स्पष्ट पारे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 