 
                             
                                            पोखरा- गण्डकी प्रदेश सभाको नयाँ भवन बन्ने भएको छ। आगामी तीन वर्षभित्र निर्माण पूरा हुने लक्ष्य लिइएको भवनको लागत २५ करोड ३७ लाख ८२ हजार रुपैयाँ छ। तत्कालीन नगर प्रशिक्षण केन्द्रको हलमा संसद् चलाइएकोमा साँघुरो भएपछि नयाँ निर्माण हुन लागेको हो।
मंगलबार पोखरा–३, नदीपुरमा आयोजित शिलान्यास समारोहमा मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले भवनको शिलान्यास गरे। श्रेष्ठ एण्ड सन्स र इष्ट-वेष्ट जेभीसँग निर्माण सम्झौता भएको प्रदेश संसद् सचिवालयले जनाएको छ।
भवन निर्माणका लागि ३२ करोड ८३ लाख दुई हजार रुपैयाँ लागत राखेर गत वर्ष २१ जेठमा प्रदेशको पूर्वाधार विकास निर्देशनालयअन्तर्गतको शहरी विकास तथा भवन कार्यालय कास्कीले टेण्डर आह्वान गरेको थियो। जसमा ३५ निर्माण कम्पनीले टेण्डर राखेकोमा २६ कम्पनी स्वीकृत भएका थिए। तीमध्ये ३२ दशमलव ४१ प्रतिशत घटेर टेण्डर राखेको काठमाडौंको श्रेष्ठ एन्ड सन्स/इस्ट वेस्ट जेभीले निर्माणको जिम्मा पाएको हो। उक्त कम्पनीसँग कार्यालयले आगामी १७ माघ २०८४ मा निर्माण सक्ने गरी गत वर्ष सम्झौता गरेको कार्यालयका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए। हाल भवन निर्माणका लागि प्रारम्भिक कामअन्तर्गत मैदान सम्याउने लगायत काम भइसकेको उनले जनाए।

डेढ वर्षअघि संसद् भवन निर्माणका लागि डीपीआर तयार गरिएको थियो। तर डीपीआर कार्यान्वयन गर्न नसक्ने भएपछि नयाँ डीपीआर बनाइएको हो।
नदीपुरस्थित हालको प्रदेशसभा कार्यालयभन्दा पछाडि नयाँ भवन बन्न लागेको हो। सात रोपनीमा बन्ने भवन तीन तलाको हुनेछ। तीमध्ये भुइँ तलामा संसदीय दलका पाँच वटा कार्यालय कार्यालय, ५ भीआईपी कार्यालय निर्माण हुनेछन्। भीआईपी कार्यालयहरू मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवको हुनेछ।
दोस्रो तलामा संसद्को बैठक कक्ष बन्नेछ, जसको क्षमता ७८ जनासमम अट्ने छन्। दर्शक दीर्घाका लागि छुट्टै ८० जनाको कक्ष निर्माण हुने जनाइएको छ। त्यसबाहेक सामान्य र भीआईपी कक्ष, मार्सल अफिस, कार्य व्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल र टीभी स्टुडियो निर्माण हुनेछन्। यहाँ पार्किङ र चमेनागृह पनि बन्नेछ। गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ।
यसैबीच मुख्यमन्त्री पाण्डेले आफ्नै कार्यकालमा सभा बस्ने गरी समयसीमाभन्दा पहिले नै निर्माण छिटो काम सक्न आग्रह गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : पर्यटन, पूर्वाधार, कृषिमा जोड [पूर्णपाठसहित]](https://himalpress.com/wp-content/uploads/2024/06/gandaki_niti_tatha_karyakram.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 