काठमाडौँ- जमलस्थित सांस्कृतिक संस्थानमा ‘गाईजात्रा महोत्सव २०८२’ चलिरहेको छ। साउन २४ देखि सुरू भएको महोत्सव साउन ३१ सम्म चल्नेछ।
संस्थानले गत वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेर गाईजात्रा महोत्सव गर्ने परम्पराको थालनी गरेको थियो। सोहीअनुरुप यो दोस्रो कार्यक्रम हो।
यसवर्ष महोत्सवमा संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका साथै लोकप्रिय कलाकारहरू लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी (मूला साग), शिवशंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोखे्रल, हिमेश पन्त, भरतमणि पौडेल, खबपु चञ्चल मगर, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालको प्रस्तुति दिनेछन्।
महोत्सव हेर्न संस्थानको कार्यालय र संस्थानको वेबसाइटमार्फत टिकट काट्न सकिनेछ। टिकटको मूल्य एक हजार र पाँच सय तोकिएको छ।
संस्थानका महाप्रबन्धक किरणबाबु पुनले नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य-मान्यताअनुरूप उत्सवका रूपमा मनाउन ‘गाईजात्रा महोत्सव २०८२’ सुरु गरिएको बताए।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताभित्र एकता भएको राष्ट्र हो नेपाल। पहिचान रक्षार्थ संस्कृतिभित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवद्र्धन तथा पुस्तान्तरणसहित उत्पादनमा जोड दिने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको हो’, उनले भने।
डिजिटल युग तथा वैश्वीकरणको प्रभावले समाजमा विकृति, विसंगति बढ्नाका साथै नेपाली संस्कृति नै संकटमा पर्ने खतरा बढेको परिवेशमा संस्थानले नेपालका सम्पूर्ण सांस्कृतिक चाडपर्व विशेष कार्यक्रम प्रस्तुत गर्दै आइरहेको उनको भनाइ थियो।
संस्थानले नै आयोजना गरेको महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गरेका थिए।
प्रकाशित: २५ साउन २०८२ १३:०० | Sunday, August 10, 2025
प्रतिक्रिया





