सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छ : महामन्त्री थापा

हिमाल प्रेस २ भदौ २०८२ १५:३९ | Monday, August 18, 2025
सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छ : महामन्त्री थापा कांग्रेस महामन्त्री गगन थापा/फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्।

सोमबारदेखि सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरुको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले अहिले दक्षिण एसिया जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौतीहरू सबैभन्दा संवेदनशील क्षेत्रको रूपमा देखिएको बताए।

उनले भारत, पाकिस्तान, नेपाल र बंगलादेशमा पछिल्ला जलवायुजन्य घटनाहरूले यस क्षेत्रमा जलवायु संकटलाई देखाएको उल्लेख गर्दै समयमा नै सतर्कता अपनाउनुपर्नेमा जोड दिए। महामन्त्री थापाले पाकिस्तानमा हालै आएको बाढीपहिरोका साथै यस क्षेत्रभर देखिएका जलवायुसम्बन्धी अन्य प्रकोपहरूलाई उदाहरण दिँदै यो संकटको गम्भीर स्मरण गराएको बताए।

उनले भने, ‘हामीले सीमापारी जोखिम मूल्यांकन गर्न सक्छौँ, जानकारी र ज्ञानको सीमापारी साझेदारी गर्न सक्छौँ। जलवायुजन्य संकट न्यूनीकरणका लागि अब चुप लागेर बस्नुहुँदैन।’

महामन्त्री थापाले भविष्यमा यस्ता जलवायु संवादलाई निरन्तरता दिन आवश्यक रहेको बताए। ‘संसदीय बहसहरू, संवादहरू जारी राखौँ,’ उनले भने।

उनले जलवायुसम्बन्धी मुद्दालाई राष्ट्रिय बहसको मूलधारमा ल्याउन सांसदहरूको भूमिका महत्वपूर्ण रहेको र समुदायस्तरबाट संकलित जलवायु अनुकूलनका ज्ञानलाई राष्ट्रिय नीति निर्माण र कार्यान्वयनमा प्रयोग गर्नुपर्ने बताए।

प्रकाशित: २ भदौ २०८२ १५:३९ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast