सय दिनसम्म स्वच्छ हावामा हिँड्न पाइनँ : रवि लामिछाने

हिमाल प्रेस २६ साउन २०८२ १५:०५ | Monday, August 11, 2025
सय दिनसम्म स्वच्छ हावामा हिँड्न पाइनँ : रवि लामिछाने रुपन्देही कारागार अनुगमनमा सोमबार खटिएको राष्ट्रिय मानवअधिकार आयोगको टोली।

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक सय दिनसम्म स्वच्छ हावामा हिँडडुल गर्न नपाएको गुनासाे गरेका छन्। रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सोमबार मानवअधिकार आयोगको टोलीसँगको भेटमा यस्तो गुनासो गरेका हुन्।

यसैगरी लामिछानेले अदालतले अनुमति प्रदान गरिसकेको कारागार स्थानान्तरणको विषय रोकिएकामा आयोगको ध्यानाकर्षण गराएको आयोगकी आयुक्त लिली थापाले सञ्चारकर्मीलाई जानकारी दिइन्। थापाका अनुसार कुराकानीमा लामिछानेले खाना र बसोबास राम्रो भएको बताएका थिए।

कारागारको अवस्था सामान्यभन्दा कमजोर देखिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आयोगका प्रतिनिधिहरूका अनुसार लामिछाने राखिएको कोठामा एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको छ।

आयुक्त लिली थापाले कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको र आधारभूत सुविधाको अभाव रहेकाे बताइन्। कैदीबन्दीअनुसार शौचालयको संख्या समेत अपुग रहेकाे उनले बताइन्।

रवि लामिछानेलाई राखिएको ब्लकको अवस्थाबारे बोल्दै थापाले झ्याल प्लाइउडले छोपिएकाले हावा प्रवेश गर्न सक्ने व्यवस्था नभएको बताइन्। रविको कोठामा एउटा चाइनिज ब्रान्डको पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने खालको ठूलो पंखा राखिएको छ।

सुरक्षाको कारण देखाउँदै जेल प्रशासक सुरेश भण्डारीले झ्याल बन्द गरिएको बताए। टाेलीले झ्याल खोल्न आग्रह गरेपछि प्रशासन त्यसका लागि सहमत देखिएको थापाले जनाइन्। आयोगले समग्रमा कारागारभित्र मानवीय तथा आधारभूत सुविधाको सुधार आवश्यक रहेको टिप्पणी गरेको छ। आयुक्त थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बीसीसहितले कारागार निरीक्षण गरेका थिए।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई गत चैत २५ गतेदेखि थुनामा छन्। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो।

भैरहवा कागारमा क्षमताभन्दा तीनगुणा बढी बन्दी राखिएकाे छ। दुई सय ५० क्षमताको कारागारमा अहिले ६ सय २८ जना कैदी, बन्दी र थुनुवा छन्।

प्रकाशित: २६ साउन २०८२ १५:०५ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast