शिक्षा विधेयक : शिक्षक महासंघले सार्वजनिक गर्‍यो पहिलो चरणका आन्दोलका कार्यक्रमहरू

हिमाल प्रेस ६ भदौ २०८२ १३:२८ | Friday, August 22, 2025
शिक्षा विधेयक :  शिक्षक महासंघले सार्वजनिक गर्‍यो पहिलो चरणका आन्दोलका कार्यक्रमहरू

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दा सम्बोधन नभएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरूपमा सम्बोधन नगरी विधेयक पारित गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो।

विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक, कर्मचारीका मुख्य मागका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।

उनले पहिलो चरणको आन्दोलनअन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउँदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिए।

त्यस्तै, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने उनले बताए।

अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने पत्रकार सम्मेलनमा बताए।

उनले अबको आन्दोलन यसअघिको भन्दा कडा र दबाबपूर्ण हुने बताए। सुवेदीले सरकारले आफूसँग गरेको सहमति कार्यान्वयनमा मात्रै महासंघको जोड रहेको धारणा राखे। उनले आफ्ना माग मुद्दाहरू समेटिने गरि संसदमा छलफल भएर विधेयक पारित हुने विश्वास व्यक्त गरे।

प्रकाशित: ६ भदौ २०८२ १३:२८ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast