शिक्षक बन्न २१ वर्ष पूरा हुनुपर्ने, महासंघ असन्तुष्ट

हिमाल प्रेस ९ भदौ २०८२ १७:०४ | Monday, August 25, 2025
शिक्षक बन्न २१ वर्ष पूरा हुनुपर्ने, महासंघ असन्तुष्ट

काठमाडौँ- सामुदायिक विद्यालयको शिक्षकमा प्रतिस्पर्धा गर्न २१ वर्ष पूरा गरेको हुनुपर्ने भएको छ।विद्यालय शिक्षा विधेयक, २०८० मा शिक्षण सेवा प्रवेश उमेर २१ वर्ष प्रस्ताव गरिएको हो।  यसैगरी उमेर हद पुरुषका लागि ३५ वर्ष र महिला तथा अपांगता भएका व्यक्तिका  लागि ३९ वर्ष तोक्न लागिएको छ। विधेयकमा यस्तो व्यवस्था गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिवेदन शुक्रबार प्रतिनिधिसभामा पेस गरेको छ।

प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्दै समिति सभापति अम्मरबहादुर थापाले भनेका थिए, ‘खुला प्रतियोगीताद्वारा पूर्ति गरिने शिक्षकको पदमा उम्मेदवार बन्न २१ वर्ष पूरा भई पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला तथा अपांग भएका उम्मेदवारको हकमा ३९ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।’

विद्यमान ऐनमा शिक्षक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न १८ वर्ष पुगेको हुनुपर्ने व्यवस्था छ। अब भने २१ वर्ष पुगेका नेपाली नागरिकले मात्र आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न पाउनेछन्। यस्तो व्यवस्थाप्रति शिक्षकहरूले असन्तुष्टि जनाएका छन्। २०७५, २०७८, २०८० र २०८१–०८२ सालमा भएका सहमति विधेयकमा नसमेटिएको भन्दै आन्दोलनमा उत्रेको नेपाल शिक्षक महासंघले ३९ बर्से उमेरहद अस्वीकार्य भनेको छ।

समितिका सभापति थापा ४० बर्से व्यवस्था राख्न समिति बैठकमा आफूले सक्दो पहल गरे पनि सरकारले त्यसलाई अस्वीकार गरेको बताउँछन्। उनले सोमबार हिमालप्रेससँग भने, ‘मैले त अन्तिम समयसम्म प्रयास गरेको थिएँ। तपाईँ सञ्चारकर्मीहरू पनि समिति बैठकमै हुनुहुन्थ्यो। ४० वर्ष बनाऔँ भन्दा सरकार मानेन।’

महासंघले पुरुष तथा महिलाको उमेर हद ४० वर्ष कायम हुनुपर्ने माग गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘महिला पुरुष सबैका लागि ४० वर्ष गराउनका लागि हामी लड्छौँ।’

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला भने विधेयकमा व्यवस्था गरिएको शिक्षण सेवा प्रवेश उमेरहदमा बुझाइमा समस्या रहेकोले सम्बन्धित पक्षले बुझाइदिनुपर्ने बताउँछन्।

प्रा.डा.कोइरालाले भने, ‘३९ वर्ष पुगेको भन्ने के अर्थ लाग्यो भने ४० वर्ष भने भइहाल्छ। मलाई लाग्छ, यसरी समाधान निकाल्ने हो। हामी त १ वर्ष पुगेर २ लाग्यो भन्छौ नि त! त्यसो भएको हुँदा ३९ वर्ष पूरा भएको भनेर लेखिएको छ। ३९ वर्ष पूरा भयो भनेको ४० वर्ष लागेको भन्ने हो। यसरी अर्थ लगाएर बुझाउनपर्छ।’

प्रकाशित: ९ भदौ २०८२ १७:०४ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast