शतप्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति व्यवस्था माग गर्दै १६ विद्यार्थी संगठनहरूले बुझाए समिति सभापतिलाई ज्ञापनपत्र

हिमाल प्रेस २ भदौ २०८२ १५:१२ | Monday, August 18, 2025
शतप्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति व्यवस्था माग गर्दै १६ विद्यार्थी संगठनहरूले बुझाए समिति सभापतिलाई ज्ञापनपत्र

काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० को सन्दर्भमा १६ विद्यार्थी संगठनहरूले सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत गर्नुपर्ने माग गरेका छन्।

१६ विद्यार्थी संगठनहरूले सोमबार संयुक्त रूपमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै संविधानले अङ्गीकार गरेको समावेशी मूल्य र योग्यता प्रणालीमा आधारित भई शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्तिको व्यवस्था ऐनमा हुनुपर्ने माग गरेका हुन्। शतप्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्दा शिक्षाको गुणस्तर सुनिश्चित गर्ने आधार बन्ने उनीहरूको भनाइ छ।

तर, अस्थायी तथा राहत शिक्षकहरूले भने ऐनमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति हुने व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूले लामो समयदेखि विद्यालय शिक्षामा योगदान दिएका कारण आफूहरूको हकहित सुनिश्चित हुनुपर्ने र सेवाबाट विस्थापित नगर्न माग गरेका छन्। समितिले विधेयकमा ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धामा सहमति जुटाइसकेको छ।

त्यसैगरी, विद्यार्थी संगठनहरूले ऐन विद्यार्थी हितमैत्री बन्नुपर्ने भन्दै विधेयक पारित हुन ढिलाइ हुनु सरकारको उदासीनता भएको बताएका छन्। साथै, शिक्षा विधेयक अघि बढाउँदा सर्वपक्षीय संवाद र छलफलमा विद्यार्थीहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने पनि उनीहरूको माग छ।

यसअघि संयुक्त विद्यार्थी संगठनले ऐनका अन्य प्रावधानसहित विद्यालय शिक्षक, कर्मचारी व्यवस्थापन, शिक्षा निःशुल्कताको पूर्ण कार्यान्वयन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अविलम्ब गर्नुपर्ने माग पनि राखेका छन्।

प्रकाशित: २ भदौ २०८२ १५:१२ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast