व्यासको चिस्यान केन्द्रमा बीउ आलु भण्डारण निःशुल्क

हिमाल प्रेस ४ भदौ २०८२ १९:४९ | Wednesday, August 20, 2025
व्यासको चिस्यान केन्द्रमा बीउ आलु भण्डारण निःशुल्क

तनहुँ- जिल्लाको व्यास नगरपालिका-११, गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानका आलु भण्डारणको निःशुल्क व्यवस्था गरिएको छ। केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले बीउको आलु भण्डारण निःशुल्क गरिएको हो।

तीन रोपनी क्षेत्रफलमा चिस्यान केन्द्र निर्माण गरिएको छ। आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्योहोर्ने जनाएपछि भण्डारण गरिएको हो।

चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि आठ मेट्रिकटन बीउ आलु भण्डारण गरिएको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिए। उनका अनुसार व्यास-९ स्थित सुनौलो नयाँ गोरेटो सहकारी संस्था, व्यास-५ को हरियाली कृषक समूह, व्यास-६ को श्याम्घा साना किसान समूह, रिस्ती मादी कृषक समूह र कृषि ज्ञान केन्द्रबाट गरी उक्त परिमाणको आलुको बीउ भण्डारण गरिएको छ।

नगरपालिकाले चिस्यान केन्द्र सञ्चालनका लागि तीन पटकसम्म सूचना जारी गर्दा पनि कुनै सहकारी संस्था वा प्राइभेट फार्मबाट आवेदन नआएपछि नगरपालिका आफैँले सञ्चालन गरेको प्रमुख पोखरेलले बताए। एक सय ३० मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गत चैतदेखि विधिवत रूपमा सञ्चालनमा ल्याइएको जनाउँदै उनले गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको उल्लेख गरे।

केन्द्र निर्माणको जिम्मा देवचुली कन्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो। २०७८ भदौ १३ गते कम्पनीले सम्झौता गरी निर्माण अघि बढाइएको थियो। विद्युत् प्राधिकरणले समयमा ‘थ्री फेज’को ट्रान्समिटर जडान नगरिदिँदा एक वर्ष ढिलाइ गरी सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए।

चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषिउपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान व्यवसायिक रूपमा उत्साहित भएका छन्। विशेष गरी आलु, सागसब्जी तथा अन्य कृषिउपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ। रासस

प्रकाशित: ४ भदौ २०८२ १९:४९ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast