वीरगन्ज हैजा पीडितलाई निःशुल्क र गुणस्तरीय सेवा उपलब्ध गराउन महामन्त्री थापाको माग

हिमाल प्रेस १३ भदौ २०८२ १३:३० | Friday, August 29, 2025
वीरगन्ज हैजा पीडितलाई निःशुल्क र गुणस्तरीय सेवा उपलब्ध गराउन महामन्त्री थापाको माग गगन थापा। फाइल तस्बिर।

पर्सा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीरगन्ज आसपासमा देखिएको हैजा संक्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधी र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताएका छन्।

आज नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरूसँग भेटघाटपछि अस्पताल प्रशासनसँग छलफल गर्दै उनले हैजा संक्रमित बिरामीको उपचारमा कुनै पनि खालको कमजोरी नगर्न अनुरोध गरे।

महामन्त्री थापाले भने,‘हैजाको उपचार गर्न आउने बिरामीले निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ। त्यसका लागि अस्पताल प्रशासनले अत्यावश्यक औषधी, खोप र जनशक्तिको पनि उचित ढंगले प्रबन्ध गर्न आवश्यक छ।’

महामन्त्री थापाले सरकारी र निजी अस्पतालमा उपचारका लागि जाँदाखेरि फरक महसुस गर्ने विषय पनि अस्पतालको सरसफाइ नै रहेको बताए।

‘प्रायःजसो निजी अस्पताल पनि सरकारी अस्पतालमा नै काम गर्ने जनशक्तिबाट नै सञ्चालन हुने हो, तर निजी र सरकारी अस्पतालबीच सरसफाइमा धेरै फरक छ। त्यसैले यस विषयमा ध्यान दिन जरुरी छ’, उनले भने।

महामन्त्री थापाले नारायणी अस्पतालको पूर्वाधार निर्माणमा हुने गाँठो फुकाउनका लागि आफू जुनसुकै सहयोग र समन्वय गर्न पनि तयार रहेको बताए।

प्रकाशित: १३ भदौ २०८२ १३:३० | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast