वीरगञ्जमा हैजा प्रकोप : विद्यालय थप ३ दिन बिदा

हिमाल प्रेस १५ भदौ २०८२ ६:४३ | Sunday, August 31, 2025
वीरगञ्जमा हैजा प्रकोप : विद्यालय थप ३ दिन बिदा

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप नियन्त्रणमा नआएपछि विद्यालयहरू थप तीन दिनका लागि बन्द हुने भएका छन्। महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा शनिबार बिहान बसेको बैठकले भोलि आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण सरकारी तथा निजी विद्यालय, कोचिङ सेन्टर र इन्स्टिच्युट बन्द गर्ने निर्णय गरेको हो।

यसअघि भदौ ८ र ९ गते पहिलो पटक र भदौ ११ देखि १३ गतेसम्म दोस्रो पटक विद्यालय बन्द गरिएको थियो। तर हैजाको सङ्क्रमण अझै नियन्त्रणमा नआएको निष्कर्ष निकाल्दै विद्यालय बन्दको अवधि थपिएको हो।

महानगरले बन्द अवधिमा विद्यालयहरूलाई शौचालय तथा खानेपानीको ट्यांकी सफा गर्न, क्लोरिन प्रयोग गरी पानी शुद्धीकरण गर्न, स्वास्थ्य संस्थासँग समन्वय गर्न र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको छ।

हैजा नियन्त्रणका लागि महानगरले विभिन्न कदम चालेको छ। स्ट्रिट फुड (पानीपुरी, चाट, पुच्का, भाजा आदि)मा पूर्ण प्रतिबन्ध लगाइएको छ भने टोल–टोलमा स्वास्थ्यकर्मी परिचालन गरी ‘पानी उमालेर मात्र पिउनु, फलफूल तरकारी राम्ररी धोएर, पकाएर खानु, काँचो वा बासी खाद्यपदार्थ नखानु र व्यक्तिगत सरसफाइमा ध्यान दिनु’ भन्ने सन्देशसहित जनचेतना अभियान तीव्र पारिएको छ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालय बन्द अवधिमा शिक्षक तथा कर्मचारीले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसलाई निरन्तरता दिन निर्देशन दिइएको छ।

विद्यालयहरूले हैजा नियन्त्रणसम्बन्धी पोस्टर, पम्प्लेट तथा अन्य सामग्री महाशाखाबाट प्राप्त गर्न सक्नेछन्। महानगरले हैजा तथा झाडापखालाका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गरेको छ भने बोरिङ र खानेपानी संस्थानमार्फत वितरण हुने पानीको पाइपलाइन व्यवस्थापनमा विशेष ध्यान दिइएको जनाएको छ।

महानगरले हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रण नहुन्जेल यस्ता प्रयासलाई निरन्तरता दिने र नागरिकलाई सचेत रहन आग्रह गरेको छ। रासस

प्रकाशित: १५ भदौ २०८२ ६:४३ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast