लिपुलेकबारे भारत र चीनबीच भएको सहमति आपत्तिजनक छ, अस्वीकार्य छ : कांग्रेस

हिमाल प्रेस ५ भदौ २०८२ १४:५७ | Thursday, August 21, 2025
लिपुलेकबारे भारत र चीनबीच भएको सहमति आपत्तिजनक छ, अस्वीकार्य छ : कांग्रेस प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापा।

काठमाडौँ- सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको बताएको छ। भारत र चीनका विदेशमन्त्रीहरूबीच नयाँदिल्लीमा हालै भएको उक्त सम्झौता स्वीकार्न नसकिने कांग्रेसको भनाइ छ।

‘हाम्रा दुई छिमेकीहरू भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरूले पढ्यौँ, सुन्यौँ, जान्यौँ,’  बिहीबार संसदको विशेष समयमा बोल्दै महामन्त्री गगनकुमार थापाले भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा दुई छिमेकीले गरेको यो व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ। अस्वीकार्य छ।’

उनले नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको सम्झौतामा सरकारले अघि बढाएको पहलकदमीमा सबैलाई समेटेर अघि बढ्न पनि आग्रह गरे। ‘नेपाल सरकारले यसका बारेमा जुन पहलकदमी अगाडि बढाएको छ, सबैलाई समेटेर अगाडि बढाओस् हामी यसका निम्ति आग्रह पनि गर्न चाहन्छौँ,’ महामन्त्री थापाले भने।

उनले यस विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए। महामन्त्री थापाले भारत र चीनको पछिल्लो कदमलाई कसैले पनि घरेलु राजनीतिको विषय बनाउन नहुनेतर्फ पनि सचेत गराए।

‘यो विषयमा हामी सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ। हिजो पनि उभियौँ, आज पनि उभिनुपर्छ। म नेपाली कांग्रेसको तर्फबाट सबै दलहरूलाई आग्रह पनि गर्न चाहन्छु,’ थापाले भने, ‘हाम्रा आफ्ना मतमतान्तर आफ्ना ठाउँमा छन्, हाम्रा प्रतिस्पर्धा आफ्ना ठाउँमा छन्, हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔँ। उग्रराष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौँ।’

प्रकाशित: ५ भदौ २०८२ १४:५७ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast