रास्वपाले रूपन्देही–३ मा डा.लेखजंग थापालाई उम्मेदवार बनाउने

हिमाल प्रेस १५ भदौ २०८२ १९:४१ | Sunday, August 31, 2025
रास्वपाले रूपन्देही–३ मा डा.लेखजंग थापालाई उम्मेदवार बनाउने डा. लेखजंग थापा

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रूपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचनका लागि डा.लेखजंग थापा उम्मेदवार हुने भएका छन्। रूपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले थापालाई उम्मेदवार बनाएको हो।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको रास्वपाको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

रूपन्देही उपनिर्वाचनको उम्मेदवार चयन गर्न रास्वपाले ९ आकांक्षीबीच प्राइमरी इलेक्सन गराएको थियो। प्राइमरी इलेक्सनमा थापाले सबैभन्दा बढी मत प्राप्त गरेको बताइएको छ।

उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए।

को हुन् थापा?

वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर–९ निवासी हुन्। नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन्।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्र्फमेटिभ’ का ग्राजुएट हुन्।

उनी काठमाडौँको व्यस्त जीवनशैलीलाई छल्दै डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमि भैरहवा आएर बिरामीको सेवा गर्दै आएका छन्।

साथै हेल्थ क्याम्पद्वारा रुपन्देहीका विभिन्न ठाउँमा स्वास्थ्य सेवा दिँदै आएका थापाले यहाँका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोषसमेत स्थापना गरेका छन्।

प्रकाशित: १५ भदौ २०८२ १९:४१ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast