राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

हिमाल प्रेस १० भदौ २०८२ १६:४६ | Tuesday, August 26, 2025
राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध ईश्वरी न्यौपाने

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्। समिति सभापतिका लागि मनोनयन दर्ताको समयावधिभित्र न्यौपानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन्।

न्यौपाने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाट सभापतिका लागि प्रस्तावित थिइन्। न्यौपानेको मनोनयन प्रस्तावकमा सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छ। एकल उम्मेदवारी परेपछि न्यौपाने समितिको सभापतिमा निर्विरोध भएकी हुन्। यद्यपि सभापतिमा निर्वाचित भएको घोषणा भने बुधबार बस्ने समितिको बैठकले गर्नेछ।

न्यौपानेले पार्टीको निर्देशनअनुसार सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति पदमा मनोनयन दर्ता गरेकी थिइन्। राज्य व्यवस्था समितिमा यसअघि घटेको घटना दोहरिन नदिने गरी सबैलाई विश्वासमा लिएर समितिलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता न्यौपानेको छ।

राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता गर्नुअघि मंगलबार नै न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्। निजामती विधेयकमा रहेको विश्राम अवधि (कुलिङ अफ पिरियड) छेडखानी प्रकरणमा बिशेष समितिले नैतिक जिम्मेवार ठहर गरेपछि यसअघिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए।

कांग्रेस र माओवादीको गठबन्धन भई पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला संसदीय समितिमा दलीय भागबन्डा गरिएको थियो। सोही आधारमा सुशासन समिति कांग्रेसको भागमा परेको थियो।

प्रकाशित: १० भदौ २०८२ १६:४६ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast