 
                             
                                            काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको नख्खुस्थित कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले बुधबार अपराह्न लामिछानेलाई भेटेका हुन्।
सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा चैत २५ गतेदेखि भैरहवास्थित कारागारमा रहेका लामिछानेलाई गत शनिबार नख्खु कारागारमा सारिएको थियो। रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा लामिछानेमाथि जेल सजाय दिइएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेको छ।
सत्तारुढ नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने प्रक्रिया थालेपछि प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले लामिछानेसँग भेट गरेका हुन्। उपसभामुख रानामागर रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन्। उनलाई पदबाट हटाउने उद्देश्यले कांग्रेस र एमाले सांसदले हस्ताक्षर संकलन गरेका छन्।
प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपा र राप्रपाले कांग्रेस-एमालेको उक्त कार्यको विरोध गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपाकी रोशन कार्कीले उपसभामुख हटाउन लागिएको कार्यको निन्दा गरेका छन्।
संवैधानिक परिषद्मा बहुमत पुर्याउन सत्तारूढ दल उपसभामुख हटाउने अभियानमा जुटेका हुन्। परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने संवैधानिक व्यवस्था छ। सत्तापक्षबाट प्रधानमन्त्री र सभामुख छन्। प्रधानमन्त्री केपी ओली र सभामुख देवराज घिमिरे एमालेका हुन्। प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल माओवादीका हुन् भने उपसभामुख राना रास्वपाकी हुन्। प्रधानन्यायाधीश तटस्थ रहन्छन्।
प्रतिपक्षी दलकै तीनजना सदस्य भएकाले संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा रहेको छ। यसले गर्दा बैठक राखेर आफूहरूले चाहेबमोजिम नियुक्त गर्न सक्ने अवस्थामा प्रधानमन्त्री ओली छैनन्। गठबन्धन सहयात्री दल कांग्रेसको परिषद्मा प्रतिनिधित्व नै छैन।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 