 
                             
                                            काठमाडौँ- यातायात मजदुर संघ/संगठनहरूले सवारीसाधनमा अंग्रेजी भाषामा लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारसँग माग गरेका छन्। सरकारी कामकाजको भाषा देवनागरी लिपिमा हुनुपर्ने प्रावधान रेहको नेपालको संविधानको मर्मविपरीत अंग्रेजी भाषामा लेखिएका इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय कार्यान्वयन नगर्न तीनवटा संघसंगठनले संयुक्त रूपमा माग गरेका हुन्।
‘इम्बोस्ड नम्बर प्लेटमा हुने आरएफआईडी ( रेडियोफ्रिक्वेन्सी आइडेन्टीटी) चिप्सलाई रिङ गर्ने प्राविधिक पूर्वाधारको व्यवस्था नगरी यो निर्णय कार्यान्वयन नगर्न सरकारसँग अपिल गर्दर्छौँ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८० साल वैशाख १४ गते प्रकाशित गरेको नेपाल राजपत्रको भाग २ ले इम्बोस्ड नम्बरप्लेटमा रहने अक्षर र अंक देवनागरी लिपि र अंग्रेजी दुवै लिपिको मिश्रित हुनुपर्ने भन्ने व्यवस्थाविपरीत यातायात व्यवस्था विभागले सूचना जारी गरेको तीन संगठनले ठहर गरेका छन्।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट गर्न नसक्दा नागरिकले दुई वर्षसम्म पनि नागरिकता नपाएको पनि विज्ञप्तिमा स्मरण गराइएको छ। ‘यस्तो अवस्थामा देशमा रहेको लाखौँ सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने विषय आफैमा अविश्वासिलो र शंकास्पद विषय छ’, नेपाल यातायात मजदुर संघका अध्यक्ष, धर्मराज भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्वदेशमै नम्बर प्लेट तयार गर्न सक्ने र हाम्रा साधनहरुको डाटा र सुरक्षाका हिसाबले गोप्य विवरणहरु विदेशीको पहुँचमा जान नसक्ने गरी प्राविधिक पूर्वाधारहरुको पूर्ण तयारी गरेर मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न उनीहरूले आग्रह गरेकमा छन्। ‘सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्रै इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्न हामी जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।
यसअघि विभिन्न संघसंस्थाले पनि इम्बोस्ड नम्बर प्लेट तत्काल कार्यान्वयन नगर्न माग गरेका छन्। अधिकांशको माग नम्बर प्लेट देवनागरी लिपिमा राख्नुपर्ने भन्ने छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 