‘मोटरबाटो चढी जाउँला रारा घुम्न’ जस्ता गीतहरू अब यथार्थ भइसकेका छन् : प्रधानमन्त्री ओली

हिमाल प्रेस ५ भदौ २०८२ २१:३१ | Thursday, August 21, 2025
‘मोटरबाटो चढी जाउँला रारा घुम्न’ जस्ता गीतहरू अब यथार्थ भइसकेका छन् : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन्।

सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्त्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट पारे।

‘यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ, तर भएका विकास र प्रगतिका कुरा अझै आएनन्। कर्णालीमा हामीले विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रंगशाला आदि बनाइसकेका छौँ,’ उनले भने, ‘कर्णालीको स्याउले अब बजार पाउँछ। अब सबै सदरमुकमासहित हुम्लामा कालोपत्र बाटो पनि जान्छ। हामी सबैले सकारात्मकता र आशा जगाउनुपर्छ। ‘मोटरबाटो चढी जाउँला रारा घुम्न’ जस्ता गीतहरु अब यथार्थ भइसकेका छन्।’

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा विशिष्ट व्यक्तिहरु र दर्शकहरुबीच भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोनन्ति हुने तयारी भएको स्मरण गराए। उनले सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास दिलाए।

‘मैले पहिला ग्यास र खानीको उत्खननका कुरा गर्दा उडानेहरुले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन्, तर कर्णाली त्यतिसारो बैगुनी हुन सक्दैन। अब हामी यार्सागुम्बा निर्यात गर्नतिर पनि लाग्नेछौँ,’ उनले भने, ‘निरकुंश राजतन्त्रको अँध्यारो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ। नेपाल बन्छ, बन्दैछ। कर्णाली बन्छ, बन्दैछ। सिंगै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ।’

प्रकाशित: ५ भदौ २०८२ २१:३१ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast