![माधवको संकीर्ण सोचले समाजवादी आन्दोलन पथभ्रष्ट हुँदै छ : झलनाथ खनाल [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/JN.jpg) 
                            
                                            नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले केही दिनयता पार्टी नेतृत्वविरुद्ध खबरदारी गरिरहेका छन्। उनले एक टीभी अन्तरवार्तामा आफूहरूले नेकपा एमालेबाट पार्टी विभाजन गरेको औचित्य पुष्टि नभएको बताएका थिए। उनलाई अध्यक्ष माधवकुमार नेपालले चित्त नबुझे पार्टी छाड्न निर्देशन दिएका छन्। यही कारण दुई नेताबीच विवाद चुलिएको छ। दुई नेताबीचको आरोपप्रत्यारोप सञ्चारमाध्यममा आउन थालेका छन्। नेता झलनाथ खनालले पार्टी परित्याग वा राजीनामाको कल्पनासमेत आफूले कहिल्यै नगरेको स्पष्ट पारेका छन्। उनले शनिबार डल्लुस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले विद्रोह गरेर निर्माण गरिएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपमा सुदृढ बनाउनुपर्ने बताए। कोही नेताले भनेको भरमा पार्टी छाड्ने वा राजीनामा दिने सोच आउनै नसक्ने उनको भनाइ छ। एनले माधव नेपाललाई ‘तल्लो स्तरको चिन्तन’ भएको व्यक्तिका रूपमा चित्रण गरेका छन्। यिनै विषयमा केन्द्रित रहेर खनालसँग गरिएको कुराकानी :
केही दिनअघि तपाईँले नेकपा एमाले विभाजनको औचित्य पुष्टि गर्न सकेनौँ भन्नुभयो। विभाजन वा विद्रोहको समयमा तपाईँहरूको के एजेन्डा थियो वा के कारण विद्रोह पुष्टि हुन सकेन भन्नुभएको हो?
हामीले चार वर्षअघि कम्युनिस्ट पार्टीभित्रको वर्चस्व भएको दक्षिणपन्थी अवसरवादको खण्डन गर्ने र मुलुकलाई समाजवादी क्रान्ति निर्माणमार्फत प्रक्रिया अघि बढाउने भन्ने उद्देश्यका साथ एमालेसँग विद्रोह गरेका थियौँ। तर ती उद्देश्य चार वर्षसम्म पनि पूरा हुन सकेनन्। दक्षिणवादी अवसरवादका विरुद्धको वैचारिक, राजनीतिक, सैद्धान्तिक संघर्ष टुटेको कौडी जति पनि भएन। दक्षिणपन्थ भनेको के हो, त्यो विचारमा, राजनीतिमा, सिद्धान्तमा र संगठनमा कहीँ पनि अभिव्यक्त भएकै छैन। यी कुराको ठोस निर्क्योल भएको छैन। र, कसले यो दक्षिणपन्थ गरिरहेको छ? यसविरुद्ध वैचारिक, सैद्धान्तिक संघर्ष अघि बढाउनुपर्ने थियो। यसको मुख्य जिम्मा भनेको पार्टीको मुख्य नेताले लिनुपर्ने थियो।
पार्टीको नेताबाट कुनै पनि काम हुन सकेन। त्यसले गर्दा यो विद्रोहको औचित्य त्यस हिसाबले पनि पुष्टि हुन सकेन। वैज्ञानिक समाजवादमा जाने भनिएको थियो। जनताको बहुदलीय जनवाद (जबज)बाहेक पार्टीको नेताबाट अरू कुरा आउँदैन। वैज्ञानिक समाजवाद भन्नेहरूप्रति नै खण्डनमण्डन पो हुन्छ। यो प्रकारको अन्योलग्रस्त अवस्थालाई विचारहीन नेतृत्वले कसरी पुष्टि गर्न सक्छ र!
समाजवादीको मुख्य नेता को हो? अध्यक्षज्यू (माधवकुमार नेपाल) मात्र हो कि अन्य पदाधिकारी पनि? अहिले त पार्टीमा बहुपदीय प्रणालीमा गएको छ, त्यसो हुँदा अरूलाई पनि दोष दिने हो कि?
होइन, मुख्य नेता भनेको अध्यक्ष मात्र हो। पद ५० वा १०० जति बनाए पनि मुख्यनेता जो हो, उही निर्णायक हुन्छ। पार्टीमा ऊ नै सर्वेसर्वा होइन तर कमिटीको नेता हो। कमिटी प्रमुखले यस्ता एजेन्डा लैजाने, विचार मन्थन गर्ने र त्यो ढंगले अघि बढ्ने गरे पो यस्ता कुरामा वैचारिक र संगठनात्मक धारणा विकसित हुँदै जान्छन्। ती कुरा भएकै छैनन्।
महाधिवेशन भएको एक वर्षभन्दा बढी भयो। एउटा अन्तरपार्टी निर्देशन (अपानि) वा कार्ययोजना प्रस्तुत भएको छैन। अनि एउटा पार्टीको मुखपत्रको एउटा अंश पनि प्रकाशित भएको छैन। अनि के आधारमा यो पार्टी चल्दै होला? तपाईं कल्पना गर्नुहोस् न। कुन नीतिको आधारमा चल्ला त? महाधिवेशनको कार्ययोजना, लक्ष्य अहिलेसम्म प्रकाशित भएको छैन। अनि कसरी विद्रोह पुष्टि हुन्छ? कमिटीभित्र त धेरै पटक उठाइयो।
के सही नेतृत्वलाई पार्टी नसुम्पिएजस्तो लाग्यो, तपाईँलाई?
उहाँले वैचारिक, सैद्धान्तिक, व्यावहारिक तरिकाले जसरी पार्टी हाँक्नुपर्थ्यो, त्यसमा योग्यता देखिएन। यसले गर्दा दिनैदिन संकटमा छ। हेर्नुहोस् न, महाधिवेशनको १३ महिनासम्म पनि दस्तावेज प्रकाशित नहुनु भनेको के हो? पार्टी कसरी चल्छ?
अब नेतृत्व फेर्नुपर्ने हो? जब कि अध्यक्षमाथि भ्रष्टाचार अभियोग पनि लागेको छ? नेतृत्व परिवर्तनतर्फ लाग्नुहुन्छ?
मार्क्सवादी-लेनिनवादी, क्रान्तिकारी, समाजवादी र सशक्त जनवादीमुखी पार्टी निर्माण गर्न असाध्यै अनुकूल समय छ अहिले। पार्टीलाई नीति, नियम दिएर हाँक्ने हो भने यही पार्टी विराट पार्टी बन्ने सम्भावना छ। पार्टी निर्माण भनेको सही सैद्धान्तिक र कार्यनीतिक दिशा हो। त्यो कार्यदिशा गलत भयो भने पार्टी निर्माण गर्न सकिँदैन। अहिले हाम्रो पार्टी त्यही अवस्थामा छ।

क्रान्तिको को मित्रु, को शत्रु भन्नेमै प्रस्ट देखिँदैन। चार अवधि हेर्ने हो भने त कहिले कांग्रेससँग साँठगाँठ गर्न पुगेको छ कहिले के गर्न पुगेको छ। कहिले एमसीसीको बाहक बनेर हिँडेको छ। त्यसो हुनाले यो सबै कुराको समीक्षा गर्नुपर्छ। समीक्षा गरेर सिद्धान्त, कार्यदिशा सही भएपछि मात्र नेतृत्व चयन गर्ने हो नि। नेतृत्व निर्माण सुन्दर र गहुँगोरो मान्छेलाई ठाउँमा पुर्याएपछि हुने त होइन। चाहे युवा होस् वा बूढो होस्- सही दिशा दिन सक्ने व्यक्ति नै नेतृत्व हो।
तपाईँले जे भन्दै हुनुहुन्छ, त्यो कुरा माधव नेपाल मान्न तयार हुनुहुन्न। किनभने हिजै मात्र पनि तपाईँको अभिव्यक्तिलाई खण्डन गर्नुभएको छ। तपाईँलाई छाडेर जाँदा हुन्छ सम्म भन्नुभएको छ। अब के हुन्छ?
यही टकराव सिर्जना गरेर नेपालको कम्युनिस्ट आन्दोलन भाँड्ने काम भएको छ। वैज्ञानिक, राजनीतिक, सैद्धान्तिकभन्दा खास व्यक्तिमाथि आरोप लगाउने, बदनाम गर्ने काम भइरहेका छन्। पार्टीलाई विखण्डन गर्ने काम भइरहेको छ। म त्यसो गर्ने पक्षमा छैन। अहिले हामी पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी क्रान्तिको रूपान्तरणको बीचमा छौँ। हाम्रो लक्ष्य भनेको समाजवाद हो। त्यो समाजवाद प्राप्त गर्न नयाँ ढंगले पार्टी बनाउनुपर्छ। बहुदलीय जनवाद हिजोको कुरा हुन्। अब त्यसको काम छैन।
समाजवादी अन्य पार्टीसँग एकता गरेर जान्छ वा के हुन्छ?
अहिले कसैसँग पनि एकताका लागि परिपक्व स्थिति बनेकै छैन। माओवादी, एमाले वा विप्लवसँग एकता छैन। तर परिस्थिति निर्माण गरेर एकता हुने अवस्थामा पुर्याउनुपर्छ। त्यसका लागि हामीले आफ्नो सुदृढ, पुनर्गठित गर्नुपर्छ। एकता गर्ने हो भने सबैभन्दा पहिले वाममोर्चा बनाएर लैजानुपर्छ। दलाल पुँजीवादलाई ध्वस्त गर्न राष्ट्रव्यापी रूपमा अघि बढाउनुपर्छ, हाम्रो बाटो त्यही हो।
एकीकृत समाजवादीमा गुट कहिलेसम्म जेल्लिरहने? पार्टीमा होस् वा जनवर्गीयमा त गुटैगट छन्। यसलाई कसरी निराकरण गर्ने?
पार्टी निर्माणकै अवस्थादेखि गुटबन्दी भइरहे। त्यही गुटबन्दीहरूको कारण न विद्यार्थी संगठन अघि बढ्न सक्यो, न युवा संघ अघि बढ्न सक्यो। न पार्टी नै चल्यो। पार्टीकै तर्फबाट गरिएका गलत नीति र निर्णयले अहिले संगठनहरू पनि बन्नै सकेका छैनन्। पार्टीले आफू र जनसंगठनबीचको सम्बन्ध कसरी परिचालन गर्ने भन्ने नयाँ शिराबाट सोच्नुपर्ने हुन्छ।
जनसंगठनमा त सबैको नाममा गुटबन्दी छ, तपाईँकै नाम पनि गुटबन्दीमा आउँछ। समग्रमा भन्नुपर्दा सक्रिय जनसंगठनभित्र किन महाधिवेशन हुन सक्दैन?
यो नेतृत्वले नीतिका आधारमा एकताबद्ध बनाएर लैजान नसक्नुको परिणाम हो।
तपाईँ अहिले समाजवादी मोर्चामा पनि सक्रिय हुनुहुन्न। केही दिनअघि मोर्चाका संयोजक विप्लवसँग तपाईँको भेटघाट भएको थियो। त्यसपछि विप्लवले समेत मोर्चा विघटन भएको भनेका छन्। के तपाईँकै कारण विप्लवले मोर्चा विघटन गरौँ भनेका हुन्?
यो कुुनकुन समूह छन्, कहिले के कुराकानी भयो। ती कुरा डिस्क्लोज गर्नु उपयुक्त हुँदैन। यतिबेला देशका सबै वामपन्थी शक्ति अटाउने वाममोर्चा बनाउनुपर्छ। कसैको कार्यदिशा समाजवादी मोर्चा होला, कसैको नहोला।
वामपन्थी शक्ति पनि त अहिले त कोदो र तोरी जस्ता छन्। भोलि ठूलो मोर्चा देखेपछि सबै आउने सम्भावना रहन्छ? ककसको मोर्चा बनाउने?
त्यसमा कुनै समस्या छैन। साम्राज्यवादको विरोध गर्ने, इजरायलले गाजा र प्यालेस्टिनीमा भएको नरसंहारविरुद्ध आवाज उठाउने साझा कार्यक्रम बनाऔँ। कार्यगत एकता भनेको इस्युमा भरपर्ने कुरा हो। वामपन्थी आफूलाई कसैले भन्छ भने त्यसले पक्कै पुँजीवादको विरोध गर्छ होला, दलाल साम्राज्यवादको विरोध गर्छ होला। तानाशाही, भ्रष्टाचार, बेरोजगारीको विरोध गर्छ होला। ती साझा सवालमा गरिने एकता कार्यगत एकता हो।
केही दिनअघि वामदेव गौतमलाई तपाईँको विरुद्धमा प्रयोग गर्न समाजवादीमा भित्र्याएको भनिन्छ। सही हो?
कसले, कस्तो कलमस मनमा लिएर, गलत मनसाय लिएर, कुन प्रकारको षड्यन्त्रपूर्ण ढंगबाट काम गर्यो त्यतातिर जान चाहन्नँ। यो स्तर नभएका, अध्ययन नभएका, निम्न पुँजीवादी चिन्तन भएका मान्छेहरूले त्यस्तो कुरा सोच्ने गर्छन्। तर के हो भने कमरेड वामदेव गौतम नेपालको कम्युनिस्ट आन्दोलनको खम्बा हो। उहाँले विभिन्न कालखण्डमा असाधारण राम्रा काम गर्नुभएको छ। त्यसो भएकाले म उहाँलाई सम्मान गर्छु। म उहाँप्रति हात फैलाउँछु। म उहाँसँग मिलेर काम गर्न चाहन्छु। उहाँ पार्टीमा आउनुभयो, मैले अंकमाल गरेर स्वागत गरेको छु। त्यसो हुनाले उहाँले यो पार्टीलाई वैज्ञानिक समाजवादीतर्फ लैजान क्रान्तिकारी दिशामा लैजान भूमिका खेल्नुहुन्छ भन्नेमा म आशावादी छु। त्यसलाई गलत दिशा दिन कसैले प्रयत्न गर्छ भने त्यो सफल हुँदैन।
भोलिका दिनमा उहाँ(वामदेव)ले जबजकै कुरा अगाडि बढाउनुभयो भने त तपाईँसँग विचारमा समस्या आउने भइहाल्यो नि, होइन?
ठीक छ, त्यस्तो देखिए हामी बहस गर्छौँ। सैद्धान्तिक तरिकाले कसैले उठाउँछ भने म त्यसलाई नकरात्मक रूपमा लिन्नँ। ल ठीक छ कमरेड, तपाईँले जबज ल्याउनुभयो, यही बाटोबाट समाजवाद आउँछ त? माक्र्सवादले वैज्ञानिक समाजवाद किन ल्याउनुभएको हो त? भनेर सोध्नेछु। मार्क्सवादको सही व्याख्या के हो? यसबारे बहस गर्छु। अरूहरूजस्तो पूर्वाग्रह र गालीगलौज म गर्दिनँ।
त्यसो भए भोलिका दिनमा वामदेव र झलनाथबीच वैचारिक एकता देखिन्छ?
त्यसको ग्यारेन्टीचाहिँ म लिन्नँ। यो व्यक्तिको इच्छाको कुरा हुन्छ। नेपालमा भएका सबै कम्युनिस्टहरू (मोहनविक्रम सिंह, मोहन वैद्य, सीपी गजुरेल, सीपी मैनाली, खड्गप्रसाद ओली, प्रचण्ड, माधव नेपाल, वामदेव) सँग अहिलेको समस्याबारे म खुलस्त छलफल गर्न तयार छु।


 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 