 
                             
                                            काठमाडौँ- दुधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरुले काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिएका छन्। लामो समयदेखि दुधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरुले आइतबार डीडीसी कार्यालयबाहिर धर्ना दिएका हुन्।
धर्ना दिनका लागि दुग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका थिए। तर, प्रहरीले उनीहरुलाई बाहिर रोकेपछि केहीबेर प्रहरी र दुग्ध किसानहरुबीच घम्साघम्सी समेत भएको थियो।
दुधको मूल्य भुक्तानीका बारेमा दुग्ध विकास संस्थानलगायत सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि भुक्तानी नभएकाले डीडीसीको कार्यालयमा धर्ना दिनुपरेको अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले जानकारी दिइन्।
आफुहरुको मागका लागि ध्यानाकर्षण गराउन खोज्दा प्रहरी लगाएर दमन गर्न खोजिएको भन्दै उनले आपत्ति जनाइन्। उनले अहिले दुग्ध किसानहरुको तीन अर्बभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताइन्।
दुधको बक्यौता रकम भुक्तानी नगरेकाले जिविकोपार्जन गर्न समेत समस्या भएको किसानहरुले गुनासो गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 