 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट गर्दै लोकतन्त्रका लागि लडेर आएका आफूहरूले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने बताए।
बैठकमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी मुलुकप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको संसद्लाई जानकारी गराए।
ओलीले यही साउन २०–२३ मा भएको सो सम्मेलनका लागि आफ्नो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी गराएका हुन्। ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूको हित प्रवर्द्धनका लागि महसुस हुनेगरी आवाज उठाएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘सम्मेलनका मुख्यसत्र र विषयगत गोलमेच कार्यक्रममा भएको नेपालको सहभागिता र सम्बोधनले नेपालको अन्तरराष्ट्रियस्तरमा छविमा बढोत्तरी हुनुका साथै नेपालले निर्वाह गर्नसक्ने नेतृत्वदायी भूमिकाको सन्देश प्रवाह भएको छ।’
उनले सम्मेलनका क्रममा औपचारिक र अनौपचारिक सम्बोधन तथा द्विपक्षीय भेटवार्ताबाट मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन मद्दत पुग्ने अपेक्षासमेत आफूले गरेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 