 
                            
                                            न्यूयोर्क- नेपालले राष्ट्रसंघको प्रमुख अंगमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षता गर्ने भएको छ। क्षेत्रगत रोलक्रमअनुसार ४० वर्षमा पहिलोपटक नेपालले बहुपक्षीय मामिलाको सबैभन्दा माथिल्लो जिम्मेवारी पाएको हो। नेपाल गत वर्ष इकोसकको एसिया-प्रशान्त क्षेत्रको उपाध्यक्ष पदमा निर्वाचित भएसँगै यस पटक अध्यक्ष हुने निश्चित थियो।
इकोसकको अध्यक्षता गत वर्ष क्यानडाले गरेको थियो। अहिले उसैले अध्यक्षताको जिम्मेवारी नेपाललाई हस्तान्तरण गरेको हो। एसिया प्रशान्त क्षेत्रको नेतृत्वको समयमा नेपालले अध्यक्षता दावी गरेको र सबैले नेपाललाई समर्थन गर्दै अध्यक्ष निर्वाचित गरेको हो।इकोसक राष्ट्रसंघका प्रमुख ६ अंग मध्येको एक निकाय हो। ५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन्।
राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रसंघका लागि न्यूयोर्कस्थित नेपालका स्थायी प्रतिनिधि थापाले बिहीबार राष्ट्रीय मुख्यालयमा आयोजित एक विशेष समारोहमा इकोसकको अध्यक्षताको जिम्मेवारी लिएका हुन्। समारोहमा इकोसकका निवर्तमान अध्यक्ष तथा राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बब रेले नेतृत्व हस्तान्तरणको प्रतीक स्वरूप ग्याभल (हथौडा) अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए।
आफ्नो उद्घाटन मन्तव्यमा अध्यक्ष थापाले आफ्नो कार्यकाललाई स्पष्ट दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले इकोसकलाई संवादमूलक प्लेटफर्म मात्र नभई क्रियाशील र परिणाममुखी कार्यान्वयनको उत्प्रेरक बनाउने अठोट व्यक्त गरे। ‘एजेन्डाहरु अरु राम्रोसँग कार्यान्वयन गर्नु विकल्प होइन, आवश्यकताकै विषय हो,’ थापाले भने। उनले बहुपक्षीय प्रणालीप्रति विश्वास पुनःस्थापना गर्नु, कमजोर वर्गलाई सशक्त बनाउनु र ठोस विकास परिणामहरू सुनिश्चित गर्नु आजको आवश्यकता भएको बताए।
नेपालको अध्यक्षतामा इकोसकका पाँच प्राथमिक क्षेत्रहरू कृषि-खाद्य प्रणालीको रूपान्तरण, व्यवस्थित सुधार र रणनीतिक साझेदारीमार्फत विकासको लागि वित्तीय स्रोत परिचालन, डिजिटल समावेशीकरण र युवाहरूको उद्यमशीलता प्रवर्द्धन, हिमताल विस्फोटको जोखिम न्यूनीकरण तथा संवेदनशील समुदायको सुरक्षा तथा इकोसकको ८० औँ वार्षिकोत्सवको आयोजना हुने उनले स्पष्ट पारे।
बहुपक्षीयवादप्रति नेपालको दीर्घकालीन प्रतिबद्धता स्मरण गर्दै अध्यक्ष थापाले यस भूमिकालाई विगत चार दशकमा नेपालले पाएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय जिम्मेवारीको रूपमा व्याख्या गरे। उनले भने, ‘इकोसकको नेतृत्व अन्तर्राष्ट्रिय विकासमा योगदान दिने नेपालको गम्भीर आकांक्षाको प्रतीक हो।’ उनले सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र निकायहरू, नागरिक समाज र अन्य सरोकारवालालाई समान उद्देश्यका लागि एकजुट भएर काम गर्न आग्रह पनि गरे।
इकोसकभित्र प्रभावकारी समन्वय, सहकार्य विस्तार, २०३० को दिगो विकास एजेन्डालाई गति दिन तथा ठोस कार्यान्वयन प्रणाली निर्माणमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए। २०२६ सत्रका लागि इकोसक ब्युरोका उपाध्यक्षहरूमा अल्जेरिया, आर्मेनिया, डोमिनिकन गणतन्त्र र स्पेन निर्वाचित भएका छन्, जसले परिषद्को कार्यलाई थप सघाउनेछन्।
नेपालको इकोसक अध्यक्षताले देशको कूटनीतिक पहिचानलाई थप मजबुत बनाउने मात्र नभई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, नागरिक समाज र विकास साझेदारहरूसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। इकोसक राष्ट्रसंघका ६ प्रमुख निकायहरूमध्ये एक हो, जसको जिम्मेवारी संगठनका आर्थिक तथा सामाजिक क्षेत्रहरूको समन्वय गर्नु हो।
इकोसकले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक विषयहरूमा छलफल गर्ने तथा सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्र प्रणालीलाई नीतिगत सिफारिसहरू प्रदान गर्ने केन्द्रीय मञ्चको रूपमा कार्य गर्दछ। ५४ सदस्य राष्ट्रहरू रहेको यो परिषद्मा सदस्यहरू नियमित रूपमा परिवर्तन हुने गरी चयन गरिन्छ। यसका साथै १ हजार ६०० भन्दा बढी गैर-सरकारी संस्थाहरूले परिषद्सँग परामर्शदाताको हैसियत प्राप्त गरेका छन् जसका आधारमा उनीहरूले संयुक्त राष्ट्रसंघको कार्यमा सहभागी हुन सक्छन्।
तनहुँमा जन्मेका थापा विद्यालय शिक्षा पूरा गरेदेखि नै परराष्ट्र सेवामा रहेका एक अनुभवी कूटनीतिज्ञ हुन्। उनी आफ्नो योग्यताअनुसार तह पनि उक्लिँदै गएका उदाहरणीय कूटनीतिक अधिकारी पनि हुन्। उनी आफ्नो कामको खासै प्रचार गर्न रुचाउँदैनन्। यद्यपि उनी जहाँ गए पनि काममा अब्बल रहने र सरकारले आफ्नो गछ्छे अनुसार राम्रै तलब भत्ता दिएको बताउँछन्। नेपालजस्तै अन्य मुलुकभन्दा आफूहरूको सेवा सुविधा कम नरहेको भन्दै कामलाई बढी जोड दिने अधिकारीमा उनी गनिन्छन्। यस्ता अनुभवी र कामलाई प्राथमिकतामा राख्ने अधिकारी मन्त्रालयमा थोरै मात्र छन्।
उनले चीन, भारत, साउदी अरेविया, अस्ट्रेलियालगायतका मुलुकमा मातहतमा रहेर काम गरे भने नेतृत्व तहमा राजदूतको रुपमा ब्रसेल्समा (ईयूका लागि राजदूत) भए। उनले आफ्नो योग्यता निखार्न अस्ट्रेलिया, कोरिया र अमेरिकाबाट कूटनीतिक प्रशिक्षण लिएका छन् भने बेलायतको ल्याण्डकस्टर विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा उच्चशिक्षा हासिल गरेका छन्। अध्ययन गर्न जाँदा नम्बर काटिने समयमा पनि आफूलाई निखार्न उनी बेलायत लागेका थिए। उनीसँगै जागिरमा प्रवेश गरेकाहरु यतिबेला बल्ल अधिकृत छन भने कोही सेवा निवृत्त भइसकेका छन्। उनी मन्त्रालयको पुराना कर्मचारीमध्ये एक पनि हुन्। अहिलेको माछा बजारजस्तो भद्रगोल रहेको परराष्ट्र मन्त्रालयलाई उनी न्यूयोर्कबाट फर्कदा नेतृत्व लिने तहमा रहन्छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]](https://himalpress.com/wp-content/uploads/2025/10/Samir-Khanal.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 