 
                             
                                            काठमाडौँ- केही समयअघि एउटै मञ्चमा जुटेर खबरदारी गरेका तीन नेताहरू फेरि जोडिने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल फेरि एउटै मञ्चमा जुट्ने भएका हुन्।
तीन नेताको विशेष उपस्थितिमा भोलि दिउँसो बुटवलको एसियन होटल कालिकानगरमा एकसाथ सम्बोधनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको शर्माको सचिवालयले जानकारी दिएको छ।
वर्तमान राजनीतिक संकट र निकास विषयक उक्त अन्तरक्रिया कार्यक्रम सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल रूपन्देहीले आयोजना गरेको हो। यसअघि पनि पुष्पलाल स्मृति दिवसको दिन तीन नेता काठमाण्डौमा एउटै मञ्चमा देखिएका थिए। त्यसबेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले कम्युनिष्ट पार्टीको आचरणका विषयमा बोलेको भनाइले माओवादी पार्टीको स्थायी समिति बैठकमा समेत चर्चा पाएको थियो।
यसपटक पनि तीन जना युवा नेताहरु एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रमले नेपालको राजनीतिक वृत्तमा फरक चासाको रुपमा हेरिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 