प्रचण्डसँग रविले भने – म जेलमा बस्दा पार्टीलाई फाइदा भएको छ

हिमाल प्रेस ४ भदौ २०८२ १८:२९ | Wednesday, August 20, 2025
प्रचण्डसँग रविले भने – म जेलमा बस्दा पार्टीलाई फाइदा भएको छ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जेलमा बस्दा पार्टीलाई फाइदा पुगेको बताएका छन्। बुधबार ललितपुरस्थित नख्खु जेल भेट्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लामिछानेले यस्तो बताएका हुन्।

‘सरकार र यो गठबन्धन मप्रति यति धेरै अनुदार किन भएको बुझ्न सेकेको छैन, मेरो जस्तै केसमा अरूले उन्मुक्ति पाउने अनि मलाई कारागारमा राख्नुपर्ने, प्रतिशोधको भावना राख्नुपर्ने,’ भेटपछि पत्रकारहरूसँग लामिछानेको भनाई उद्धृत गर्दै प्रचण्डले भने,‘मलाई जेलमा राख्दा पार्टीलाई फाइदा पुगेको छ, यो कुरा कांग्रेस र एमालेले किन बुझ्न नसकेको? आफ्नै खुट्टामा किन बन्चरो हानेको होला?’

भैरहवाको तुलनामा यहाँ लामिछानेको स्वास्थ्य राम्रो भए पनि दुब्लाएको उनले बताए। प्रचण्डले भने,‘उहाँ दुब्लाउनु भएको छ। भैरहवामा गोलघरमा राखेको रहेछ, भैरहवाको तुलनामा यहाँ राम्रो छ।’

आफू अभिभावकको हैसियतले रास्वपा सभापति लामिछानेलाई भेट्न आएको प्रचण्डको भनाइ थियो।

‘मेरो क्याबिनेटमा दुईचोटी गृहमन्त्री रहनुभयो, अभिभावकको हैसियतमा भेट्न आएको हो,’ उनले भने,‘भैरहवा पनि जान खोजेको थिएँ, समय अभावका कारण सम्भव हुन सकेन।’

अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले गठबन्धन निरंकुशतातर्फ अगाडि बढिरहेको आरोपसमेत लगाए। उपसभामुख इन्दिरा राना मगरको प्रसंग निकाल्दै उनले यस्तो बताएका हुन्।

‘उपसभामुखलाई पटक–पटक झम्टिने काम सरकारले गरिरहेको छ, सानो त्रुटि देखाएर उनीमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको छ,’ प्रचण्डले भने,‘गठबन्धन निरंकुशतातर्फ गइरहेको छ, इन्दिरालाई देखाएर सबै संवैधानिक निकायमाथि आक्रमण गर्न खोजिरहेको छ। हामी सरकारलाई खबरदारी गरिरहेका छौँ।’

प्रकाशित: ४ भदौ २०८२ १८:२९ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast