अन्तरिक्षयात्रीहरू बायाँबाट क्रमशः रुसका ओलेग प्लेटोनोभ, माइक फिन्क, जेना कार्डम्यान र जापानका किमिया युई केनेडी स्पेस सेन्टरको प्रक्षेपण स्थलतर्फ जानुअघि पोज दिँदै। तस्बिर : एपी/रासस
स्पेसएक्सले शनिबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा नयाँ चालकदल पुर्यायो, त्यो यात्रा १५ घण्टामा सम्पन्न भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।
चारजना अमेरिकी, रुसी र जापानी अन्तरिक्षयात्रीहरू स्पेसएक्सको क्याप्सुलमार्फत नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरेपछि आईएसएसमा पुगेका हुन्। उनीहरूले अब त्यहाँ कम्तीमा पनि छ महिना बिताउनेछन्। साथै उनीहरू मार्चदेखि रहेका आफ्ना सहकर्मीसँग साटफेर हुनेछन्। स्पेसएक्सले ती चारजनालाई बुधबारसम्म फिर्ता ल्याउने तयारी गरेको छ।
नयाँ आएका अन्तरिक्षयात्रीमा नासाकी जेना कार्डम्यान र माइक फिन्क, जापानका किमिया युई र रसियाका ओलेग प्लेटोनोभ छन्। ‘हेलो, स्पेस स्टेसन!’ फिन्कले रेडियोबाट भने।
उनीहरूको आगमनसँगै केही समयका लागि अन्तरिक्ष स्टेसनमा रहेका मानिसको संख्या ११ पुगेको छ। ‘पहिलो पटक अन्तरिक्ष स्टेसन हाम्रो दृष्टिमा आएको त्यो दृश्य अविश्वसनीय रूपमा सुन्दर थियो’, कार्डम्यानले भनिन्।




