पोखरामा पाल्पाको ५ सय वर्ष पुरानो लाखे नाच प्रदर्शन

हिमाल प्रेस २७ साउन २०८२ १३:१६ | Tuesday, August 12, 2025
पोखरामा पाल्पाको ५ सय वर्ष पुरानो लाखे नाच प्रदर्शन

पोखरा- सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा पोखरामा पाल्पाको ऐतिहासिक लाखे नाच प्रदर्शन गरिएको छ।

सोमबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि करिब ४ घण्टासम्म चलेको नाच हेर्न दर्शकको ठूलो संख्यामा उपस्थिति थियो। विभिन्न भेषभूषामा सजिएका लाखे र भुच्चाको हाउभाउ कलात्मक थियो। लगातार बाजाको तालमा उनीहरू असिनपसिन भई नाचेका थिए।

पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले गत वर्षझैं यसपालि पनि सो कार्यक्रम गरिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए।

पाल्पा रिब्दीकोट गाउँपालिका वडा ४, भैरवस्थान हटियाबाट सुनिल प्रधानको नेतृत्वमा पाल्पा भैरव लाखे समूह करिब ४५ सदस्यीय टोली गाडी रिभर्ज गरी पोखरा आएको थियो।

यसप्रकारको नाच यसअघि काठमाडौँ, चितवन, भैरहवा, बुटवल, नेपालगन्ज, दाङलगायतका सहरमा पनि प्रदर्शन भइसकेको राजकुमार रणपालले बताए।

गठेमंगलदेखि कुखुराको भालेलाई बली दिई पूजाआजा गरी सुरु हुने नाच कृष्णजन्माष्टमी पर्वसम्म चल्ने गर्छ। पाल्पालीहरू ५ सय वर्ष पुरानो इतिहास बोकेको यो नाच जोगाउन लागिपरेका छन्।

पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौँ आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ।

उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए।

पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले पोखरामा पाल्पाको लाखे नचाउँदा आपसमा संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा टेवा मिल्ने बताए।

प्रकाशित: २७ साउन २०८२ १३:१६ | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast