भैरहवा- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन्।
भैरहवामा जारी नेसपा नयाँ शक्तिको दुईदिने लुम्बिनी प्रदेश प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका डा.भट्टराईले बिहीबार भैरहवा कारागारमा लामिछानेसँगको भेटघाट गरेका हुन्।
भेटमा वैकल्पिक राजनीतिक शक्ति निर्माण, सुशासन र समृद्धि लगायतका विषयमा छलफल भएको डा.भट्टराईले बताएका छन्। आफूलाई लामिछानेप्रति व्यक्तिगत रूपमा सद्भाव रहेकाले भेट्न आएको उनले बताए।
‘अदालतको फैसलामाथि टिप्पणी गर्नु उचित हुँदैन,’ डा. भट्टराईले भने, ‘तर हालसम्म लामिछानेमाथिको अभियोग पुष्टि भएको छैन। उनी जनताको प्रतिनिधि हुन्, कतै भाग्ने सम्भावना देखिँदैन।’



