निजामती विधेयक : विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा सभामुखको अग्रसरता

हिमाल प्रेस २६ साउन २०८२ १७:३९ | Monday, August 11, 2025
निजामती विधेयक : विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा सभामुखको अग्रसरता सभामुख देवराज घिमिरे/फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति प्रतिवेदन कार्यान्वयनका विषयमा भिन्नभिन्न छलफल गरेका छन्। सभामुख घिमिरेले सोमबार सत्तारुढ एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेका हुन्।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएका छन्। कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको जानकारी दिँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरेका छन्।

राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवका रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै सभामुख घिमिरेले समितिको काम अब धेरै समय रोक्न नसकिनेमा जोड दिए।

नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन्।

सभामुखले यसअघि सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए।

सभामुखले मंगलबार सुझाव लिएपछि संयुक्त बैठक गर्ने तयारी गरेका छन्। मंगलबार ११ बजे प्रमुख सचेतकसँग संयुक्त बैठक तोकिएको सभामुखको सचिवालयले जनाएको छ।

प्रकाशित: २६ साउन २०८२ १७:३९ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast